जनताको माया, एकता र समर्थनले एसकेएम ३२ वटै सीटमा जीत दर्ता गर्न सक्षम बन्नेछ: पीएस तामाङ

n570221874170404633628157a36d5f8dbda3eec7b28e1d42a17bc6f7d72732f381442034732f7c82a12aab.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री तथा एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले नयॉं वर्ष २०२४ को राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले यो नयाँ वर्षले हाम्रो निम्ति नयाँ जोश, नयाँ ऊर्जा र नयाँ उमङ्ग लिएर आउनेछ भन्दै नयाँ वर्ष २०२४-ले सबैमा नवोन्मेषी विचार प्रादुर्भाव गर्नेछ अनि सिक्किमको सुरक्षित, विकसित, सुन्दर अनि सुनौलो सिक्किम निर्माणको निम्ति मार्ग प्रशस्त गर्नेछ भन्ने दृढ़ विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो शुभकामना सन्देशमा भनेका छन्, साढ़े चार वर्षको अवधिमा एसकेएम पार्टीको सरकारले धेरै उल्लेखनीय कार्य गरेको छ। सरकार स्थापित भएदेखि नै एसकेएम सरकारले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि आदि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आइरहेको छ। कोरोना महामारीको उल्लेख गर्दै उनले भनेका छन्, ‘महामारीकै बीचमा हाम्रो सरकारले नयाँ एसटीएनएम अस्पतालमा भाइरल टेस्टिङ ल्याब छोटो समयावधिमै स्थापित गर्नसक्यौं। महामारीकै बीचमा एसटीएनएम, गेजिङ अनि नाम्ची जिल्ला अस्पतालमा डायलिसिस केन्द्र स्थापना गर्न सफल बन्यो। पूर्वको सरकारले गर्न नचाहेका यस्ता धेरै पूर्वाधारका कामहरू हामीले महामारीकै बीचमा गरेको यहाँहरू सबैलाई थाहा भएकै कुरा हो।’

एसकेएम पार्टीको सरकारले वर्षौंदेखि सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको कलंक मेटाउन सफल बनेको, पाक्योङ र सोरेङ जिल्ला गठन गरेको, श्रमिकहरूको दैनिक ज्यालामा बढ़ोत्तरी गरेको लगायतका धेरै काम कुराहरूमा उल्लेखनीय प्रगति गरेको सन्देशमा उल्लेख गरेका छन्।

एसकेएम अध्यक्षले भनेका छन्, ‘च्याखुङमा नेताजी सुवास चन्द्र बोस सेन्टर अफ् एक्सिलेन्स अनुसन्धान केन्द्रको निर्माणको धमाधम भइरहेको छ। त्यसरी नै तिमी तार्कूमा कञ्चनजङ्घा सिक्किम राज्य विश्वविद्यालय निर्माणको काम द्रूत गतिमा भइरहेको छ। सिक्किमका गरीब जनताको निम्ति एसकेएम सरकारले सिक्किम गरीब आवास योजना अन्तर्गत पहिलो चरणमा ३०५० वटा घर निर्माण गरिसकेको छ भने अब दोस्रो चरणको काम चाँड़ै शुरु हुँदैछ। यसरी नै शहरी क्षेत्रका जनताको निम्ति सिक्किम शहरी गरीब आवास योजना पनि एसकेएम सरकारले शुरु गरिसकेको छ।’

पाँच वर्षको कार्यकालमा एसकेएम सरकारले कोरोना र टिस्टा बाढ़ जस्तो दुई-दुई पटक त्रासदी भोग्नुपरेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘टिस्टा बाढ़को समय तत्काल हामी सबै मिलेर स्थितिलाई साम्य पार्न सफल बन्यौं। मैले तत्काल देशका प्रधानमन्त्री, केन्द्रिय मन्त्रीगणसित सम्पर्क गरेर सहयोगको निम्ति बिन्ती गरेपछि केन्द्र सरकारले पनि हाम्रो लागि तत्काल सहयोग उपलब्ध गराएको थियो, जसले स्थितिलाई सुधार गर्नमा ठूलो मद्दत मिल्यो।’

उनले नववर्ष २०२४ सालमा फेरि विधानसभा र लोकसभाको चुनाउ हुनेछ भन्दै एसकेएम सरकारले गरेको विकासीय सामाजिक कार्यबारे सबै जनगणलाई विदित रहेको बताएका छन्। उनले एसकेएम सरकार जनताको काम गर्न समर्थ छ भन्ने जनतामा विश्वास भएको बताउँदै एसकेएम पार्टी चुनावको मैदानमा उत्रिने र जनताको माया, एकता र समर्थनले यसपटक एसकेएम पार्टीले ३२ वटै सीटमा जीत दर्ता गर्न सक्षम बन्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *