गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले निर्वाचन आयोग भारत सरकारद्वारा चुनाउ चिन्ह ‘नागरिक’ प्राप्त गरेर फर्कने क्रममा गान्तोकको एमजी मार्गमा राष्ट्रपिता महात्मा गान्धीलाई खादा लगाउने उद्देश्यले गएको टोलीलाई पुलिसले रोक्नु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको सीएपीले ठहर गरेको छ।यसैगरी, सीएपी प्रमुख संयोजक गणेश राईले तीस चालीसजना समर्थकसंग एसएचओ सदर थानामाथि हात-पात गरे भनेर झुटो र भ्रामक खबर सम्प्रेषण गरिएको भन्दै सीएपीले खेद प्रकट गरेको छ।
सीएपीले आज जारी एउटा प्रेस विज्ञप्तिमा भनेको छ, राज्यको एउटा राजनैतिक दल जसले चुनाउ चिन्ह लोकार्पणपछि राष्ट्रपितालाई खादा लगाउन अनुशासित रूपमा नपाउनु यो लोकतन्त्रको हत्या हो। हिजो पुलिस बलले सिटिजन एक्सन पार्टी सिक्किमका नेताहरूमाथि देखाएको दुर्व्यबहारको पार्टी कडा शब्दमा भत्सर्ना र तीब्र निन्दा गर्दै शान्ति र अहिंसाका पुजारी महात्मा गान्धीको सत्याग्रह आन्दोलनलाई एकपटक पढ्ने, अनुसरण गर्ने आग्रह समेत पार्टी गर्दछ। पार्टी अध्यक्ष एलपी काफ्ले र प्रमुख संयोजक गणेश राईले बापुको प्रतिमामा खादा समेत लाउन नपाउनु औ तालाले बन्द गान्धीको बाहिर बराण्डाको पाइपमा खादा बाँधेर हिंड्नु यो प्रजातन्त्रको गला निमोठ्नु सिवाय अरु केहि होइन। पुलिसको व्यवहारप्रति पनि सीएपीले असन्तुष्टि प्रकट गरेको छ।
विज्ञप्तिमा अघि भनिएको छ, हाम्रो उद्देश्य लक्ष्य र कर्तब्य आम नागरिकको सरोकारको विषय हो। हामी नागरिकको पक्षमा छौं, सिक्किमेली आम नागरिकको जीवनमा सुर्योदयको नव बिहानी ल्याउने र अबको राजनीतिले समग्रको हित र सुधार ल्याउने उद्देश्यमा पार्टीले नागरिक चुनाउ चिन्ह सिक्किमेली नागरिकमा समर्पण गरेको छ। नागरिकका मिडिया र पुलिसले प्रजातन्त्रको चौथो स्तम्भको आधारमा उभिएर निर्भीक काम गरुन् भनी सीएपीले विज्ञप्तिमा सुझाउ पनि दिएको छ।