सोनादा: रेडियो सलेसियनले श्रोताहरुको निम्ति नयाँ सालदेखि दुई नयाँ कार्यक्रमहरू शुरु गर्ने भएको छ।
आगामी शनिवार ६ जनवरी र आइतवार ७ जनवरी २०२४ मा शुरु हुँदै, रेडियो सलेसियनले ‘सुन्ने कथा’ र ‘रेडियो ड्रामा अन भ्यालुज’ नामक दुई नयाँ कार्यक्रमहरू शुरु गर्नेछ। स्थानीय गाँउहरुको भ्रमण गर्दै नोभेम्बर २०२३ देखि आर्जेहरुले सुन्ने कथा रेडियो कार्यक्रम उत्पादन गर्दै आइरहेका छन्। हालसम्म ७ गाउँहरु, मुर्मा चियाबारी, सिटोङ डायरी गाउँ, पोखरियाबोङ शान्तिटोल, सोरेनी धाड गाँउ , इनटेक ताम्कुले, माली बस्ती अनि
स्कूल गाँउ नगरी फार्म, को भ्रमण गरि ७ वटा कार्यक्रम तयार पारेको जनकारी रेडियो सलेसियनका कार्यक्रम निर्देशक समीर छेत्रीले जानकारी दिएका छन्। उत्तर बंगालको पहिलो सामुदायिक रेडियोका रेडियो पत्रकारहरूले २०२४ मा थप ३३ गाउँहरू भ्रमण गर्ने योजना बनाएका छन्। सुन्ने कथाको प्रत्येक साप्ताहिक एपिसोडमा गाउँको इतिहास, त्यहाँका मानिसहरू र तिनीहरूको संस्कृति, साथै स्थानीय समुदायका विभिन्न वर्गहरूले सामना गरेका समस्याहरू समावेश हुनेछन्।
रेडियो ड्रामा अन भ्यालुज, एउटा अङ्ग्रेजी भाषाको कार्यक्रम हुनेछ जसको पहिलो सत्रमा २५ एपिसोड हुनेछ । सलेसियन कलेज सिलिगुडीका सञ्चार र पत्रकारिता विभागका विद्यार्थीहरूले अन्य विभागका प्रतिभाहरूसँगको सहकार्यमा यी एपिसोडहरु तयार पार्नेछन्।
अङ्ग्रेजी भाषामा रहेका यी रेडियो नाटकहरुको प्रत्येक एपिसोड फूल बारी नामक लोकप्रिय बालबालिकाको कार्यक्रम अन्तर्गत प्रशारण गरिनेछ । नाटक मार्फत इमानदारी, सम्मान, सहयोग, कृतज्ञता जस्ता सरल मूल्यहरूको प्रस्तुतिले युवा दिमागलाई प्रभाव पार्ने आशा गरिएको छ भन्ने कुरा रेडियो सलेसियनका निर्देशक फादर सीएम पलले व्यक्त गरेका छन्। २०१६ मा स्थापित रेडियो सलेसियन दार्जिलिङको मात्र होइन तर उत्तरपूर्वी भारतका आठ राज्यहरूमा पहिलो कलेज आधारित सामुदायिक रेडियो हो।