गान्तोक: नाम्ची महाविद्यालयको एसआरसीका पूर्व अध्यक्ष स्वार्गीय पदम गुरूङको घटनालाई लिएर हाल विभिन्न राजनैतिक दलहरूले सीढी बनाएर अघि बढने काम गरिरहेको राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आरोप लगाएका छन्।
आज उनले बुर्तुकस्थित हेलिपेडमा आयोजित गुरूङ समुदायको महान पर्व तमु ल्योछारको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन्।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा स्वार्गीय पदम गुरूङ सहित नाम्ची महाविद्यालयका शिक्षक साथै छात्राहरूले आफूसँग उनको मृत्यु हुनु भन्दा ठीक पन्ध्र दिनअघि मिन्तोकगाङमा एक कार्यक्रमलाई लिएर भेट भएको जानकारी गराए। उनले उक्त भेटमा महाविद्यालयको कार्यक्रमको मिति पनि तय गरिएको थियो, तर उनको मृत्यु भएको समाचार सुनेपछि आफू दुःखी बनेको बताए। यस घटनाको जनकारी पाउनसाथ विभिन्न पक्षबाट जाँच प्रक्रिया शुरू गरिएको पनि उनले बताए।
तर, जाँच गर्ने क्रममा कसैलाई पनि दोषी नपाएपछि अन्ततः सिक्किम उच्च न्यायालयका पूर्व न्यायधीश एनके जैनको अध्यक्षतामा एकल जाँच समिति गठन गरेको र उक्त समितिले बुझाएको रिपोर्ट पनि सार्वजनिक भएको बताए। हामी कसैलाई पनि चेप्न चाहॅंदैनौं र दोषीले सजाय पाउनु पर्छ भन्ने हाम्रो मुख्य उद्देश्य रहेको मुख्यमन्त्रीले जानकारी गराए। यदि अहिले पनि कसैसँग गुरूङको हत्यालाई लिएर कुनै प्रमाण प्रस्तुत गरेको खण्डमा तुरून्त उसलाई पक्राउ गर्ने पनि उनले वचन दिए। तर कसैको मृत्युलाई लिएर राजनीतिकरण गर्न नहुने उनले सुझाउ दिएका छन्।