रम्फू: सिटिजन एक्शन पार्टी, सिक्किमले भारतको निर्वाचन आयोगबाट चिन्ह प्राप्त गरेको छ। पार्टीका अध्य़क्ष एलपी काफ्लेले आज एउटा सानो कार्यक्रमबीच पूर्व सिक्किमको रम्फूमा पार्टीको चिन्ह “नागरिक”-लाई लोकार्पण गरे। यसै चिन्ह लिएर सिटिजन एक्शन पार्टी, सिक्किम आगामी वर्षको आरम्भमा हुने राज्य विधानसभा र लोकसभा चुनाउमा जानेछ।
पार्टीको चिन्ह लिएर आजै नयाँ दिल्लाबीट सिक्किम फर्किएका पार्टी अध्यक्ष एलपी काफ्ले र प्रमुख समन्वयक गणेश राईलाई स्वागत जनाउन राज्यको प्रवेशद्वार रम्फू चेकपोस्टमा सिटिजन एक्शन पार्टीका नेता अनि कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित पार्टीका कार्यकर्ता एवं समर्थकहरूलाई सम्बोधन गर्दै अध्यक्ष एलपी काफ्लेले सिटिजन एक्शन पार्टी सिक्किमे नागरिकले, सिक्किमे नागरिकको लागि गठन गरेको पार्टी भएकोले चिन्ह पनि सान्दर्भिक पाएको बताए। सिटिजन एक्शन पार्टी कुनै एक व्यक्तिको इच्छा पूरा नहुँदा गठन भएको पार्टी नभएर सबै क्षेत्रमा सुधारको लक्ष्य राखेर सिक्किमे नागरिक स्वयंले गठन गरेको उनले बताए।
अध्यक्ष काफ्लेले आफ्नो सम्बोधनको क्रममा सिटिजन एक्शन पार्टी अन्य राजनीतिक पार्टीहरू भन्दा किन भिन्न र विशेष छ भन्ने बारेमा पनि विचार राखे। सिक्किम साथै देशकै राजनीतिमा झण्डाको कारण एकाअर्कामा दुश्मनी हुने गरेकोले सिटिजन एक्शन पार्टीले आफ्नो कुनै झण्डा नै नराखेको उनले बताए।
उल्लेखनीय छ, सुधारको नारा लिएर सिटिजन एक्शन पार्टी, सिक्किमको गठन यसै वर्षको २६ जनवरीमा भएको हो भने यसै महिना भारतको निर्वाचन आयोगमा पञ्जीकृत भएको थियो।