वर्तमान सरकारले कुनै पनि जातिलाई अन्याय गरेको छैन्- मुख्यमन्त्री तामाङ
गान्तोक: बुर्तुकस्थित हेलिपेडमा आज गुरूङ समुदायको महान पर्व तमु ल्योछार राज्यस्तरीरूपमा पालन गरियो। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा बसोबासो गर्ने सबै जातिलाई आफ्नो जातिय पर्व स्वतन्त्रतारूपमा पालन गर्न वातारण सृजना गरेको बताए। राज्यका कुनै पनि जातिलाई वर्तमान सरकारले अन्याय नगरेको उनले ठोकुवा गरे। वर्तमान सरकारले साढे चार वर्षको अवधिमा सम्प्रदायिक सदभावनाको बीउ रोप्ने काम गरेको बताए। यस भन्दा अघिको सरकारले राज्यका मानिसहरूलाई विभिन्न जातमा विभाजन गरेर राज्यको एकता नै टुक्राएको तर वर्तमान सरकारले राज्यका सम्पूर्ण जातिलाई एकताको सुत्रमा बाँध्ने काम गरिरहेको मुख्यमन्त्रीले आफ्नो सम्भाषणमा जानकारी गराए। राज्यमा बसोबासो गर्ने कुनै पनि जातिको पर्वलाई राज्यका मानिसहरूले आफ्नै पर्वकोरूपमा लिनु पर्ने सुझाउ दिए। एसडीएफ सरकारले आफ्नो 25 वर्षे शासनकालमा टुक्रा टुक्रा बनाएको जातिलाई वर्तमान सरकारले एकताको सुत्रमा बाँध्ने प्रयास गरिरहेको किटान गरे। कुनै पनि राजनीतिज्ञहरूको निम्ति जाति विभाजन हुनु हुँदैन् र सिक्किमका गुरूङ समुदायहरू सुन्तला जस्तो नभएर खरबुजा जस्तो मिलेर बस्नु पर्ने आग्रह गरे। वर्तमान सरकारले कुनै पनि जाति, समूहलाई नछुट्टाएको र अन्याय नगरेको दावी गरे।

वर्तमान परिपेक्ष्यमा सिक्किम विधानसभामा गुरूङ समुदायको कुनै विधायक नरहेको तर आफू नै गुरूङ समुदायको प्रतिनिधित्व गर्दै सबै काम गरिरहेको जानकारी गराए। आजको यस कार्यक्रममा गुरूङ समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने, गुरूङ समुदायलाई विभिन्नस्तरमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई पनि सम्मान जनाइयो। सो कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती लगायत मन्त्रीगण,विधायकगणको पनि उपस्थिति रहेको थियो।