सिलगढी: गत २७ दिसम्बरमा सिलगढी देवकोटा संघले बिजय सुवेदीको अध्यक्षता अनि अवकाशप्राप्त प्राध्यापक लक्ष्मीकान्त शर्माको प्रमुख आतिथ्यमा ९६औं गिरी जयन्ती पालन गऱ्यो। उक्त समारोहमा विशिष्ट अतिथिगण डा. जस योञ्जन प्यासी, श्रीमती स्नेहलता राई, संरक्षक पी. अर्जुन र प्रा. डा. मोहन पी. दाहाललगायत सिलगढीलगायत दार्जीलिङ, कलेबुङ, खरसाङ, मङ्पूबाट पनि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा नेपाली साहित्यप्रति लगातार महत्त्वपूर्ण सेवा पुऱ्याउँदै आएर आफ्ना ८४ भन्दा अधिक कृतिहरू नेपाली साहित्य समाजलाई प्रदान गरिसकेका वरिष्ठ साहित्यकार जीवन नामदुंगलाई ‘गिरी साहित्य सम्मान पुरस्कार-२०२३’ ले अलंकृत गरियो भने अहिलेसम्म तीन दर्जनभन्दा अधिक कृतिहरू प्रकाशित गरेर साहित्यलाई योगदान गरिसकेका असम ढेकियाचुली निवासी साहित्यकार छविलाल उपाध्यायलाई ‘देवकोटा साहित्य सम्मान पुरस्कार २०२३’ले अलंकृत गरियो। उनीहरूलाई अभिनन्दन पत्र, दोसल्ला, शीरशोभा, पुष्पगुच्छा, खादा साथै पुरस्कार राशिले सम्मान र अलंकृत गरियो। सामाजिक संस्था भएता पनि देवकोटा संघले संस्कृति र साहित्यलाई पनि अँगालेर कार्य गर्दै आइरहेको छ अनि गत तीन वर्षदेखि लगातार साहित्य साधकहरूलाई ‘गिरी साहित्य सम्मान पुरस्कार २०२३’ अनि ‘देवकोटा साहित्य सम्मान पुरस्कार’ प्रदान गर्दै आइरहेको छ। उमेरले ९० बर्ष पुगिसकेका देवकोटा साहित्य सेवा पुरस्कार २०२३ का प्रापक छविलाल उपाध्यय शारीरिक अस्वस्थताको कारण कार्यक्रममा उपस्थित हुन नसकेका कारण उनका छोरा गोपाल उपाध्याय खतिवडाले बुबाको पक्षमा पुरस्कार ग्रहण गरे।

कार्यक्रमको थालनीमा प्रमुख अतिथि, सभाध्यक्ष, अध्यक्ष तथा विशिष्ट अतिथिगणका बाहुलीबाट माता सरस्वती अनि कवि गिरीका तस्वीरमा धूप, दीप प्रज्ज्वलन अनि माल्यार्पण गरेपश्चात् संघका सचिव श्री पी.टी. योल्मोले स्वागत भाषण राखेका थिए। डा. जीवन नामदुंगको साहित्यिक परिचय साहित्यकार सतिश रसाइलीले राखे। छविलाल उपाध्यायको साहित्यिक परिचय साथै साहित्यकार छविलाल उपाध्यायले लेखेका धन्यवाद पत्र साहित्य संयोजिका देविका मंग्राती राईले उपस्थित सबैसमक्ष प्रस्तुत गरिन्। पुरस्कृतद्वय साहित्यकारका अभिनन्दन पत्र संघका सह-सचिव कैलाश राई अनि बाडुली मुखपत्र सम्पादक प्रा. मेघनाथ छेत्रीले पठन गरे।
संरक्षक प्रा.डा. मोहन पी. दाहालले ‘महाकवि देवकोटा’-बारे आफ्नो वक्तव्य राखे। सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिगणका बाहुलीबाट पुरस्कार प्रदान गरेपश्चात् डा. जीवन नामदुंग आफूलाई देवकोटा संघले गिरी साहित्य सम्मान पुरस्कारले अलंकृत गरेकोमा आफूलाई भाग्यमानी ठान्दै संघ साथै उपस्थित सम्पूर्ण विज्ञजन, संघ-संस्था, अतिथिवर्गमा आभार व्यक्त गरे अनि अगमसिंह गिरीका साहित्यिक योगदान, लेखनशैली, जातीय प्रेम, मातृभाषा, संस्कृतिप्रतिको सचेतना, जीवनी, व्यक्तित्व, गिरीका काव्यिक प्रवृति र शैली साथसाथै गिरीका संग्रह, खण्डकाव्य, गीत, कथा, निबन्ध, सम्पादन, समीक्षा विशेष गरेर जातीय पक्षहरूमाथि विस्तृत ढंगमा साझा गरे। उल्लेखनीय छ, डा. जीवन नामदुंग ‘अगमसिंह गिरी’-का काव्य कृतिहरूबारे अनुसन्धान गरी ‘विद्यावारिधि’ (पीएचडी) प्राप्त गर्ने प्रथम व्यक्ति हुन्।
कार्यक्रममा थप आकर्षक कार्यक्रमहरूमा प्रा. डा. राजीव विश्वकर्माले देवकोटाको प्रसिद्ध कविता ‘पागल’ अनि नारी हस्ताक्षर श्रीमती सुभद्रा बम्जनले गिरीको कविता ‘तिमी त नचिनिने भएछौ’ उत्कृष्ट ढंगमा आवृति गरे। संघको संगीत अनि सांस्कृतिक विभागद्वारा स्वागत गीत साथै सामूहिक गीत प्रस्तुत गरियो। नटराज कला केन्द्र, सालबारीका कलाकारहरूले दुईवटा उत्कृष्ट नृत्य प्रस्तुत गरे। नाट्य निर्देशिका पन्नु गजमेर साथै अदिती दाङ्गी छेत्री, स्मारिका शर्मा, आचल भगत, स्वर्णिका प्रधान, आहाना विश्वकर्मा अनि दोर्जी वाङमु शेर्पाले सोरठी मारूनी अनि नेवारी नृत्य प्रस्तुत गरे। मन्थन नाट्य मंचद्वारा एकांकी नाटकको प्रस्तुतिमा लेखिका अनि निर्देशिका सरस्वती शेर्पा र लक्ष्मी देवानको सुन्दर अभिनय थियो। ‘जाति अनि संस्कृतिको पहिचान’ नाटकले सबैको मन जित्न सक्यो। प्रमुख अतिथि प्रा. डा. लक्ष्मीकान्त शर्माको वक्तव्यपश्चात् विजय सुवेदी, सभाध्यक्षले अध्यक्षीय सम्भाषण राखे। सह-सचिव कैलाश सुब्बाले धन्यवाद ज्ञापन गरे। यस दिनको कार्यक्रमलाई संघका सह-सचिव श्याम प्रधान अनि युवा संयोजिका गीता देवानले सञ्चालन गरेका थिए। यसबारेमा जानकारी देवकोटा संघकी साहित्य एवं कार्यक्रम संयोजिका देविका मंग्राती राईले दिएकी छिन्।