मंगन: अन्तर्राष्ट्रिय कोदो वर्ष पालन गर्नको साथै कोदोको स्वास्थ्यलाभ बारे जनचेतना जगाउने उद्देश्यले यहाँको जिल्ला प्रशासनिक केन्द्र परिसरमा मिलेट मेला आयोजना गरिएको छ। मेलाको आयोजना राज्य सरकारको स्वास्थ्य विभागको खाद्य सुरक्षा प्रकोष्ठ र परिवार कल्याण विभागको संयुक्त तत्वावधानमा गरिएको हो। आज मिलेट मेलाको साथै वकाथनको पनि आयोजना गरिएको थियो। मेलाको उद्घाटन कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम सरकारका सड़क एवं पुल मन्त्री सामडुप लेप्चा मुख्य अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले कोदोको पौष्टिक गुणमाथि प्रकाश पारे। कोदोलाई गरीबको खाना भनेर दुष्प्रचार गरिएको बताउँदै स्वास्थ्यको निम्ति कोदो कतिको महत्वपूर्ण छ भन्ने बारे जनचेतना जगाउने समय आएको उनले बताए। उनले दैनिक उपभोगमा कोदो समावेश गर्न र स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरे।
उत्तर सिक्किमको लाचुङमा पर्यटन विषयमा बोल्दै मन्त्रीले पर्यटकहरूलाई पर्मिट बारे बोल्दै पर्मिटको नयिम पहिलेको जस्तै रहने बताए। उनको भनाइअनुसार अर्को सूचना नआएसम्म पर्मिट जारी गर्ने नियममा कुनै परिवर्तन गरिनेछैन।
मेलाको उद्घाटन पछि मन्त्रीले मेलाको भ्रमण गर्दै उत्तर जिल्लाका आगनवाडी र कृषि विज्ञान केन्द्र, मंगनद्वारा लगाइएका स्टलहरूको भ्रमण पनि गरे।