सिलगढीः सिलगढी महानगरीय पुलिसको नयाँ जलपाइगढी थानाको पुलिसले डकैतीको सन्देहमा ३ जनालाई पक्राउ गरेको छ । नयाँ जलपाइगढी थानाको पुलिस सूत्रका अनुसार आरोपीहरू लुटपाटको उद्देश्यले भेला भएका थिए। पक्राउ पर्नेमा रविकुमार महतो, प्रदीपकुमार र शिवशंकर सिकदार रहेका छन् ।
अभियुक्त रविकुमार महतो र प्रदीपकुमार झारखण्डका हुन् । दोस्रो आरोपी शिवशंकर सिकदार फुलबारी जयनगर क्षेत्रका बासिन्दा हुन् । अभियुक्तहरू बुधबार राति एनजीपी स्टेशन नजिकैको कचगलीमा लुटपाट गर्ने नियतले भेला भएका थिए । गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा नयाँ जलपाइगढी थानाको पुलिसले सादा लुगामा छापा मारेर आरोपीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटपाटका लागि ल्याइएको विभिन्न हतियार बरामद भएको छ । अभियुक्तहरूलाई बिहीबार जलपाइगढी अदालतमा पेश गरिएको थियो।