क्रिकेटबाट सन्यास लिएका अम्बाती रायुडू ओर्लिए राजनीतिमा

Ambati-Rayudu

हैदराबाद: पूर्व भारतीय क्रिकेटर अम्बाती रायडु विजयवाडाको मुख्य कार्यालयमा बिहीबार आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीको उपस्थितिमा युवाजन श्रमिका रिथु कांग्रेस पार्टी (वाईएसआरसीपी)मा सामेल भए। आन्ध्र प्रदेशका उपमुख्यमन्त्री नारायण स्वामी र सांसद पेद्दिरेड्डी मिथुन रेड्डीले जगनमोहन रेड्डीसँगै पूर्व क्रिकेटरलाई पार्टीमा स्वागत गरे। रायुडुले यसै वर्ष क्रिकेटबाट सन्यास लिएका थिए। उनी आईपीएल विजेता चेन्नई सुपर किंग्सको सदस्य थिए। उनले आईपीएलकै क्रममा सन्यासको घोषणा गरेका थिए। तर, त्यसपछि उनी विदेशी लिगमा खेलिरहेको देखिएका छन्। वाईएसआरसीपीको ट्वीटमा लेखिएको छ, ‘प्रसिद्ध भारतीय क्रिकेटर अम्बाती तिरुपति रायडु सीएम क्याम्प अफिसमा मुख्यमन्त्री वाईएस जगनको उपस्थितिमा वाईएसआर कांग्रेस पार्टीमा सामेल भएl’ कार्यक्रममा उपमुख्यमन्त्री नारायण स्वामी र सांसद पेद्दिरेड्डी मिथुन रेड्डी सहभागी थिए।

क्रिकेटबाट सन्यास लिएको झण्डै एक महिनापछि अम्बाती रायडुले आन्ध्र प्रदेशको राजनीतिमा दोस्रो इनिङ्सको घोषणा गरेका थिए। उनले लोकसभा चुनाव पनि लड्ने अनुमान गरिएको छ। जूनमा मिडियासँग कुरा गर्दै उनले भनेका थिए, ‘म जनताको सेवा गर्न छिट्टै आन्ध्र प्रदेशको राजनीतिमा प्रवेश गर्नेछु। यसअघि पनि जनताको नाडी जान्न र समस्या बुझ्न विभिन्न ठाउँको भ्रमण गर्ने निर्णय गरेको छुl’ अम्बाती रायडुले सन् २०१३ मा भारतका लागि डेब्यु गरेका थिए। आफ्नो ५५ खेलको एकदिवसीय करियरमा उनले ४७ को औसतमा १६९४ रन बनाए। जसमा ३ शतक र १० अर्धशतक पनि छन्। रायुडुले भारतका लागि ६ टी–२० खेलमा ४२ रन बनाएका थिए। उनले सन् २०१९ मा भारतका लागि अन्तिम खेल खेलेका थिए। आईपीएलको कुरा गर्दा उनले सन् २०१० मा मुम्बई इन्डियन्सबाट डेब्यु गरेका थिए। सन् २०१८ मा, उनी चेन्नई सुपर किंग्समा आवद्ध भए। यस अवधिमा रायुडुले २०३ खेलमा ४३२८ रन बनाएका छन्। उनले मुम्बई इन्डियन्सबाट तीन र चेन्नई सुपर किंग्सबाट तीन आईपीएल उपाधि जितेका छन्।        

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement