अगमसिंह गिरी नाट्य मञ्च तीनधारेद्वारा ९७औं गिरी जयन्ती कार्यक्रम

IMG-20231228-WA0214.jpg

खरसाङ: आज तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा अगमसिंह गिरी नाट्य मञ्च तीनधारेको आयोजनामा जातीय कवि अगमसिंह गिरीको ९७औं जन्म जयन्ती पालन गरियो। उक्त कार्यक्रम शिक्षाविद मार्थारानी राईको अध्यक्षता र प्रा. डा. अमीर ठटालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एल्डर मसीह प्रकाश मोक्तान उपस्थित थिए। उक्त कार्यक्रमलाई कवि सुवास बान्तवाले सञ्चालन गरेका थिए। सभाध्यक्ष प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट कवि गिरीको तस्वीरमा दीप प्रज्ज्वलनबाट शुरू भएको कार्यक्रममा लाजीन तामाङले नृत्य प्रस्तुत गरिन् भने कवि मिलन प्रधान, कवि सुप्रेम क्षेत्री, मसीह प्रकाश मोक्तानले कविताहरू पठन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा डा अमीर ठटालले अब हामी जाति भाषाको सम्बन्धमा अत्यन्तै गम्भीर बन्नु पर्ने समय आएको अनि यसरी विशेष दिनहरूमा हाम्रा महान् विभूतिहरुको जन्म जयन्ती मनाएर मात्र पर्याप्त नहुने कुरो बताए। उनले सबैलाई उनीहरूले सिकाएको कुराहरूलाई कार्य रुपमा उतार्न आह्वान् पनि गरेका थिए।

कार्यक्रममा अगमसिंह गिरीको जीवनी कवि तथा समाजसेवी दिपक प्रधानले प्रस्तुत गरेका थिए। उनले कवि गिरीकै लेखन वा कविताहरूबाट प्रेरणा पाएर दार्जीलिड पहाडमा उन्मुक्तिको संघर्ष धेरै चोटि भईसकेको कुरा सबैलाई अवगत गराए। अन्त्यमा अगमसिंह गिरी नाट्य मञ्चको सह संयोजक विमल दर्जीले यो संघको औचित्य र उद्देश्य नाट्यकलालाई टेवा पुरयाई तीनधारेको पुरानो गरिमा फर्काई ल्याउनुको साथमा समाज सेवा रहेको बताए। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement