बंगलादेशमा जनवरीमा हुने आमनिर्वाचनका लागि प्रधानमन्त्री तथा सत्तरुढ दल अवामी लिगकी प्रमुख शेख हसिनाले चुनावी घोषणापत्र जारी गरेकी छन्। जनवरी ७ मा हुने आमनिर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा शेख हसिनाको पार्टीले ‘स्मार्ट बंगलादेश’ बनाउने उल्लेख गरेको छ। घोषणापत्रमा अवामी लिगले ‘स्मार्ट बंगलादेशः विकास देखिँदैछ, अब रोजगारी बढ्नेछ’ भन्ने विषयलाई केन्द्रित गरेको छ। पार्टीले आफ्नो घोषणापत्रमा आधुनिक, प्रविधिमुखी देश निर्माणका लागि ११ प्राथमिकता तय गर्दै स्वास्थ्य सेवालाई विश्वव्यापी स्वास्थ्य सेवा प्रणालीसहितको आधुनिकीकरण गर्ने वाचा गरेको छ।
पार्टी कार्यकर्ता, नेता र समर्थकहरूसँग अवामी लिगको घोषणापत्र जारी गर्दै शेख हसिनाले भनिन्, ‘आउनुहोस्, फेरि एकपटक अवामी लिगको चुनाव चिन्हमा भोट हालेर सेवा गर्ने अनुमति दिनुहोस्।’ उनले अवामी लिगलाई भोट दिएमा विकास, शान्ति र समृद्धि दिने बताएकी छिन्। कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पार्टी भाषणबाजीमा विश्वास नगर्ने बताउँदै गरिएका वाचा पूरा गर्ने बताइन्। सन् २००८ को चुनावी घोषणापत्रमा भिजन २०२१ सम्मका योजना पूरा गर्ने वाचा गरेका गरेको स्मरण गर्दै २०१४ र २०१८ मा जितेर धेरै काम गरेको पनि दाबी गरिन्। उता, पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले चुनाव विरोधी सडक अभियान चलाएको छ। उसले बंगलादेशमा हडताल र यातायात बन्दको आह्वान गरेको छ। उनको पार्टीले वर्तमान सरकारको नेतृत्वमा देशमा निष्पक्ष निर्वाचन हुननसक्ने बताउँदै आएको छ।