सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा आउँदो ३१ दिसम्बर र १ जनवरीको दिन उत्तर पलास मझुवा गाँउ सालुगढा/सिलगढी (महानन्दा नदीको किनारमा स्थित) मानव धर्म आश्रमको परिसरमा सम्पन्न हुने दुई दिवसीय सदभावना सम्मेलनलाई सम्बोधन गर्न मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज, माता श्री अमृताजी, श्री बिभूजी महाराज र श्री सुयशजी महाराज २९ दिसम्बर शुक्रबारको दिन सिलगढी आउने छन्। गएको २४ र २५ दिसम्बरको दिन कोलकाताको शहीद मिनार मैदानमा, २७ र २८ दिसम्बरको दिन असमको शिलापत्थरमा सम्पन्न भएको सदभावना सम्मेलनलाई सम्बोधन गरी २९ दिसम्बरमा श्री महाराजजी आफ्ना परिवारको साथमा हवाई मार्गद्वारा बाघडुग्रा विमानस्थलबाट उत्तर पलास मझुवा गाँउस्थित मानव धर्म आश्रम सिलगढी आउने छन्। माता श्री आराध्याजी आफ्ना पुत्र श्री श्रीयांशको साथमा गत् २६ दिसम्बरको दिन नै मानव धर्म आश्रम आएका छन्। श्री महाराजको आगमनमा भव्य स्वागतको लागि तयारी चलिरहेको छ। विशेष गरी दार्जीलिङ पहाड, सिक्किम, भोटाङ र तराई डुवर्सका विभिन्न जातीय समुदायका संस्कृतिक नृत्य र झाँकीहरू र श्री हंस ब्याण्डको धूनद्वारा भव्य स्वागत गरिनेछl साथै मानव सेवा दलका एक विशिष्ट टोलीद्वारा गार्डस अफ अनर प्रदान गरिनेछ। सम्मेलनको प्रथम दिन मुख्य अतिथिको रूपमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, विशिष्ट अतिथिको रुपमा सिक्किम विधान सभाका अध्यक्ष अरुणकुमार उप्रेती उपस्थित हुने छन्।
दुइ दिवसीय सदभावना सम्मेलनको लागि अन्तिम तयारी प्रायः पूरा भईसकेको छ। देश – विदेशका विभिन्न प्रान्तहरूबाट सदभावना सम्मेलनमा सहभागी हुन आउने सन्त महात्मा बाईगण एवम् भागवत भक्तजनको लागि निःशुल्क आवास, भोजन भण्डारा , स्नान, शौचालय , आपातकालीन सेवा, प्राथमिक उपचार आदि सबैको व्यवस्था गरिएको छ । सम्मेलनलाई सुचारु रुपले सञ्चालन गर्न विभिन्न विभागहरू छुट्टयाएका छन्। सबै विभागहरूको आ- आफ्नो तयारी प्रायः पूरा भईसकेको छ। मानव ह्रदयमा अध्यात्मको विकासको उद्देश्यले वितेका पचास वर्षभन्दा अघिदेखि सिलगढीमा सदभावना सम्मेलन हुँदै आईरहेको छ। सम्मेलनमा सबै प्रकारको सुव्यवस्थाको लागि मानव सेवा दल र आध्यात्मिक युवा संगठनका एक हजारभन्दा धेर स्वयंसेवक सेविकाहरू तैनाथ छन्। ३१ दिसम्बर बेलुकी ६ बजीदेखि विशाल मञ्चमा सदभावना सम्मेलन शुरु हुनेछ। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज एवम् आत्मानुभवी सन्त महात्मा बाईगणद्वारा हुने आध्यात्मिक प्रवचन एवम् प्रसिध्द कलाकारहरूद्वारा सम्पन्न हुने विभिन्न प्रकारका भक्ति संगीत र सांस्कृतिक कार्यक्रमहरूबाट लाभ उठाउन सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। सम्मेलनमा सहभागी हुन इच्छुक महानुभावहरूले सम्मेलनको प्रवेशद्वार नजीक रहेको स्वागत कक्षमा मानव उत्थान सेवा समिति र सेवादलका कार्यकर्ताहरूसंग सम्पर्क गर्ने अनुरोध समितिको उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्षा महात्मा अदिना बाईजी र मूल सचिव प्रकाश हाङखिमले निवेदन गरेका छन् भनी समितिका प्रवक्ता माधव बुढाथोकी र मेघनाथ छेत्रीले जानकारी गराएका छन्।









