उदघाटन खेलमा नव ज्योति संघ चुनभट्टी बिजयी
खरसाङ: आजदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आज भएको उदघाटन खेल नव ज्योति संघ चुनभट्टी र डाईन्यामिक बोइस सत्र माइलमाझ सम्पन्न भएको छ। यस पहिलो खेलमा नव ज्योति संघले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ११२ रनको लक्ष्य दिएको थियो जसमा नव ज्योति संघको पक्षबाट दिसाद अन्सारीले सर्वाधिक ४३ र मनोहर थापाले २३ रन बनाएको थियो। ११२ रनको लक्ष्यलाई खेदो गर्दै डाईन्यामिक बोइसले निर्धारित १५ ओभरमा केवल १०२ रन मात्र बनाएकोले नव ज्योति संघ चुनभट्टी ९ रनले बिजयी बनेको थियो।डाईन्यामिक बोइसको पक्षमा विशाल शंकरले सर्वाधिक ३२ रन बनाएको थियो। यस खेलमा ४३ रन र २ विकेट लिने चुनभट्टीको खेलाड़ी दिसाद अन्सारी म्यान अफ् द म्याच चयन भएका छन्। अाजको उदघाटन खेलमा निर्णायकको रूपमा सितम प्रधान र राजीव प्रधान रहेका थिए।

आजको उदघाटन खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरू दिपेन्द्र तामाङ र दावा दोर्जे, तीनधारे पुलिस आउट पोष्टको ओसी बीरेन्द्र छेत्री आदि उपस्थित रहेका थिए। अब अघिल्लो चरणमा नव ज्योति संघको सामना सिविटारसित हुने भएको आयोजक समितिको पक्षबाट सुभम प्रधानले जानकारी दिएका छन्। उनले बताए अनुसार उक्त क्रिकेट टुर्नामेन्टमा विजेतालाई २५,०००(पच्चीस हजार) र उप विजेतालाई १५,००० (पन्ध्र हजार) नगदराशिसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। उनले बताए अनुसार तीनधारे महानदी समष्टी स्तरीय उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टिममा दुईजना खेलाड़ीहरू समष्टीदेखि बाहिरको पनि खेलाउन सकिने प्रावधान राखिएको छ। उनले जनाए अनुसार अब भोलि २९ दिसम्बरमा युवराज ईलेभेन र गैरी गाउँ क्रिकेट क्लबमाझ खेल हुनेछ। यस समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी १४ जनवरीको दिन हुने भएको छ।









