गान्तोक: राज्यको खाद्य एवं नागरिक आपूर्ति विभागद्वारा आज यहाँको एमजी मार्गमा राष्ट्रिय उपभोक्ता दिवस पालन गरियो। यस अवधि गान्तोक नगरनिगमकी उप-मेयर छिरिङ पाल्देन भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन् भने अप्पर एमजी मार्गका पार्षद सन्दीप मालु विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा विभागको तर्फबाट स्टलहरू लगाएर उपभोक्ताहरूलाई विभिन्न विषयमा जानकारी दिने कार्य गरिएको थियो। आफ्नो संक्षिप्त सम्बोधनमा उप-मेयर छिरिङ पाल्देन भोटियाले राज्यवासीलाई खाद्य एवं नागरिक आपूर्ति विभागद्वारा प्रदान गरिने सहुलियतहरूको दुरुपयोग नगरिदिने अपील गरेकी छिन्। हुने खानेले पनि बीपीएल कार्ड चलाइरहेको, तर कति आवश्यकहरूले पाउन नसकेको कुरालाई उल्लेख गर्दै खाँचोमा परेकाहरूले सहज रूपमा सुविधा पाउन सकियोस् भन्ने उनले आह्वान गरेकी छिन्।
दुर्घटनाबाट सहजै जोगिन सकिने नयाँ प्रविधिको सिलिण्डरबारे बोल्दै उनले यो धेरै सुरक्षित अनि सहज रहेको बताइन्। यो एसटीसीएसमार्फत सहजै उपलब्ध गर्न सकिने उनले जानकारी गराइन्।