गेजिङ: पेलिङ पर्यटन विकास संघद्वारा आयोजित कञ्चनजंघा शीतकालीन पर्यटन महोत्सवको आज तेस्रो दिन सिक्किम सरकारका पर्यटन विभागका मन्त्री बीएस पन्त मुख्य अतिथिकोरूपमा उपस्थित थिए।
उनको साथमा मन्त्री तथा क्षेत्र विधायक भीमहाङ सुब्बा,लोक सभा सांसद इन्द्र हाङ सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा आयोजक समितिले पेलिङ पर्यटन विकास संघका सक्रिय सदस्य लगायत राज्यको विभिन्न पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको सुटो, टास, होम इस्टे संघ लगायत अन्य प्रतिनिधिहरूलाई सम्मान जनायो।
कार्यक्रमको पहिलो चरणमा मुख्य अतिथिले विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले राखेका परम्परागत स्टल र जैविक स्टलहरूको भ्रमण गरे। सिक्किममा बसोबास गर्ने सबै समुदायले उनलाई परम्परागत ढंगले आ-आफ्ना स्टलमा स्वागत गरे जहाँ उनीहरूले आ-आफ्नो संस्कृति, चलन र खानाका सामानहरू प्रदर्शन पनि गरेका थिए।
स्वागत सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष नारायण खतिवडाले यस महोत्सवको बिस्तृत जानकारी दिॅंदै सिक्किमेली समाजमा एकता र भाइचारा कायम राख्न र पर्यटकहरूले राज्यका विभिन्न समुदायहरूले स्थापना गरेका स्टालहरूमा उपलब्ध परम्परागत खाद्यान्न वस्तुहरूमा रमाउन पनि अवसर प्रदान गरेको बताए।पर्यटन क्षेत्रलाई अझ बढाउन राज्यको सडक मार्गहरू राम्रो हुनु जरुरी रहेको पनि उनले जानकारी गराए। यस वर्ष विशेषगरी याक राइडिंग, घोडा सवारी, प्याराग्लाइडिंग, सांस्कृतिक कार्यक्रम फेस्टमा अन्य आकर्षणहरू रहेको पनि उनले बताएका छन्।