सुकना: सुकना साहित्यिक- सांस्कृतिक संस्थानको आयोजनामा सुकनास्थित सार्वजनिक भवनमा ९६औं गिरी जयन्ती एवम् सुकना संवादको सातौं प्रकरण संस्थानका सभापति सूर्यमणि शर्माको अध्यक्षतामा आज २७ दिसम्बरको दिन सम्पन्न भयो।
कवि अगमसिंह गिरी र संस्थानका संस्थापक सचिव एस. के. छेत्रीको तस्वीरमा माल्यार्पण एवम् दीप प्रज्वलन भई शुआरम्भ भएको आजको समारोहमा
संस्थानका मूल सचिव जे.बी.बस्नेतले स्वागत सम्भाषण राखेका थिए। आफ्नो स्वागत सम्बोधनमा उनले संस्थानका गतिविधिहरू र भावी कार्यक्रमहरू बारेमा अवगत गराएका थिए। संस्थानका साहित्यिक सचिव प्रा. मेघनाथ छेत्रीले कवि अगमसिंह गिरीबारे वार्ता प्रस्तुत गर्दै गिरीको कविता वाचन गरे। कार्यक्रममा साहित्यिक सह-सचिव देवराज शर्माद्वारा स्वरचित लघुकथा प्रस्तुत गरेपछि
संस्थानकै सांस्कृतिक सचिव के. के. विश्वकर्माले गिरीका नौ लाखे तारा उदायो गीतको लेखन सन्दर्भ बताउदै गिरीप्रति श्रद्धाञ्जली स्वरूप एक स्वरचित कविता पाठ गरे। संस्थानका सह सचिव नवराज छेत्रीद्वारा सञ्चालित आजको
कार्यक्रममा संस्थानका संरक्षिका मीरा राई लगायत संस्थानका पदाधिकारीहरू कृष्ण छेत्री, अशोक प्रधान, पञ्चायत समिति सदस्या अरुणा छेत्री ( प्रधान), पञ्चायत सदस्य प्रगेश विश्वकर्मा , दुर्गा शर्मा, प्रीति शर्मा, खग गुरागाईं, शर्मिला दियाली, सुनीता उपाध्याय, ध्रुब छेत्री लगायत भाषा – साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। समारोहको लिखित टिपोट खग गुरागाईंले गरेका थिए। समारोहका अध्यक्ष सूर्यमणि शर्माले आफ्नो मन्तव्यमा गिरी जयन्ती र सुकना संवादको आयोजनाको लागि सबैलाई धन्यवाद दिँदै आगामी ६ जनवरीको दिन सम्पन्न हुने संस्थानको सभामा पनि संस्थानका सबै सदस्य- सदस्याहरूलाई उपस्थित भईदिने आह्वान गरेका थिए।









