कालचिनीः भाजपाको राज्य सभापति सुकान्त मजुमदारले स्वामी विवेकानन्दको उक्तिमाथि अभद्र टिप्पणी गरेको प्रतिवादमा मंगलाबार तृणमूल युवा कंग्रेस कालचिनी ब्लक कमिटीले कड़ा प्रतिवाद जनाउँदै ऱ्याली निकाल्यो। उक्त ऱ्यालीमा तृणमूल अलिपुरद्वार जिल्ला कमिटीको चेयरम्यान गंगा प्रसाद शर्मा लगायत तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, तृणमूल जिल्ला महासचिव असिम पाख्रिन, ब्लक महासचिव हैदर अली अन्सारी एवम् विभिन्न अन्चलहरूबाट युवा औ महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। ऱ्याली कालचिनी थाना मैदानदेखि शुरु भएर कालचिनी चौपति हुँदै राङ्गामाटी रोड अनि त्यहाँबाट पुनः कालचिनी चौपतिमा पुगेर पथसभामा परिणत भएको थियो। पथसभामा भाजपाको नेताहरू अहिले बौलाएर जताभावी बोल्न थालेको र राष्ट्रिय अखण्डताको हाँक दिने पार्टीको राज्य सभापतिले बंगालको मात्र नभएर सम्पूर्ण भारतको युवा अध्यात्मिक गुरु स्वामी विवेकानन्दको उक्तिलाई लिएर स्वामी विवेकानन्दको विचारको गलत विश्लेषण गर्दै तिनलाई कुनै राजनैतिक दलको उत्पाद भन्नु निन्दनीय रहेको तृणमूल नेताहरु गंगा प्रसाद शर्मा, असिम पाख्रिन, हैदर अली अन्सारी र पवन योल्मोले बताए। तृणमूल युवा कंग्रेसको पक्षबाट सर्वत्र यसको प्रतिवाद भईरहेको क्रममा आज कालचिनीमा पनि यसको प्रतिवाद स्वरूप ऱ्याली र पथसभा भएको तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले थप जानकारी गराएको छ।