चुनौतीलाई चिर्दै ग्लेमर वर्ल्डमा विवाहित महिलाहरू

PIC-1

 दास इन्टरटेनमेन्टको प्रस्तुति: मिसेस ईस्ट इण्डिया ब्युटी पेजेन्ट-२०२३सिजन-५    

टीआरआई समाचार

खरसाङ: एउटा छुट्टै रोमाञ्चले भरिएको ग्लेमर वर्ल्ड सबैका निम्ति चुनौतीपूर्ण हुन्छl झनै विवाहित घरेलु महिलाका लागि ग्लेमर वर्ल्ड भनेको फलामको चिउरा चपाउनु बराबर हुन्छl खरसाङकी तीनजना यस्तै विवाहित महिलाहरू सबिना गिरी, सरस्वती थापा र सरिता तामाङले चुनौतीहरूको सामना गर्दै ग्लेमर वर्ल्डको प्रतियोगिता ‘मिसेस ईस्ट इण्डिया ब्युटी पेजेन्ट-२०२३’ सिजन-५ मा भाग लिएर फलामको चिउरा पचाउन सफल भएका छन्l गएको १७ दिसम्बरमा सिलगढीको दास इन्टरटेनमेन्टद्वारा प्लानेट मलमा आयोजित ‘मिसेस ईस्ट इण्डिया ब्युटी पेजेन्ट-२०२३’ सिजन-५ मा सबिना गिरी ‘बेस्ट पर्सनालिटी’, सरस्वती थापा ‘पब्लिक च्वाइस’ सेकेण्ड रनर-अप (पारम्परिक पहिरन), सरिता तामाङ ‘पब्लिक च्वाइस’ फोर्थ रनर-अप बन्न सफल भएका छन्l सरिता तामाङले बेस्ट भोइसको पुरस्कार पनि प्राप्त गरिन्l उनीहरू सबै नै गृहिणीहरू हुन, तर ग्लेमरको वर्ल्डको ऱ्याम्पमा दर्शाउने प्रतिभा उनीहरू भित्र जम्मिएको अदम्य चाहना, अनि आफ्नो परिश्रम, लगनशीलता र सङ्घर्षका कारण उनीहरू आत्मविश्वासीको लहरमा उभिएका छन्l

छोरीको जीवन बिहे पछि चुल्हा-चौका भन्ने समाजको रुढीवादी मासिकतालाई परिवर्तन गर्न दास इन्टरटेनमेन्टले विशेष सक्रियता अप्नाएको छl ‘वुमेन्स आर नट ओन्ली फर किचन’ अर्थात ‘महिलाहरू केवल चुल्हा-चौकाको लागि मात्र होइनन्’ यही हो दास इन्टरटेनमेन्टको ट्यागलाइनl सन् २०१८ मा अनु दास र उनकी छोरी जेनिफर लाबरले दास इन्टरटेनमेन्ट स्थापित गरेर अहिलेसम्ममा सय भन्दा बढी विवाहित महिलाहरूलाई ग्लेमर वर्ल्डको चुनौतीपूर्ण मञ्च ऱ्याम्पमा प्रस्तुत गराएर आत्मविश्वासी बनाएका छन्l धेरै महिलाहरू यस्ता हुन्छन्, जोसित बिहे हुनअघि देखि नै थुप्रै किसिमका प्रतिभा हुन्छन्, तर त्यसलाई उनीहरूले उजागर गर्ने अवसर वा कुनै मञ्च पाउनसकेका हुँदैनन्l यस्तै विवाहित महिलाहरूका लागि दास इन्टरटेनमेन्टले तयार गरेको मञ्च हो ‘मिसेस ईस्ट इण्डिया ब्युटी पेजेन्ट’l यो प्रतियोगिताको पहिलो सिजन सन् २०१८ मा भएको थियोl त्यति बेला ६० जना प्रतियोगीहरूले भाग लिएका थिएl यसपछि सन् २०१९ मा भएपछि कोरानाको महामारीका कारण सन् २०२० आयोजना हुननसकेको दास इन्टरटेनमेन्टकी सीईओ अनु दासले बताउँछिन्l सन् २०२१ देखि यो प्रतियोगिता निरन्तर आयोजना भइरहेको छl अनु दासका अनुसार, यो मञ्च ती प्रतिभाशाली विवाहित महिलाहरूको प्रतिभालाई प्रस्तुत गर्नका लागि स्थापित गरिएको होl यसमा भाग लिन पश्चिम बंगाल, उत्तर पूर्वीय राज्य, पञ्जाब, दिल्ली, बिहार, बैंगलोरबाट पनि प्रतियोगीहरू आउने गर्छन्l यसपाली ‘मिसेस ईस्ट इण्डिया ब्युटी पेजेन्ट-२०२३’मा सफलतापूर्वक भाग लिएका सबिना गिरी, सरस्वती थापा र सरिता तामाङ हरेक सङ्घर्षशील महिलाहरूका एउटा माध्यम हुन्l

सबिना गिरी: दार्जीलिङ पहाडी भेकका लागि परिचित अनुहार हुन् सबिनागिरीl खरसाङको बङ्दिल निवासी एकजना छोरीकी आमा रहेकी सबिना घरको चुल्हा चौकासँगै सामाजिक गतिविधिमा सक्रिय रहन्छिन्l यस भेकका विभिन्न कार्यक्रमहरू रमाइलो उद्घोषणा गर्ने सबिना गिरी आकाशवाणी खरसाङमा समाचार वाचिका, क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङमा कार्यक्रम प्रस्तोता साथै यसैको समाचार एकांश एनके समाचारमा सम्पादक साथै समाचार वाचिका हुन्l उनी जीटीएको सूचना एवं संस्कृति विभागका कार्यरत छिन्l सबिना एकजना सङ्घर्षशील आमा हुन्l पहिला उनले ग्लेमर वर्ल्डको ऱ्याम्पबारे केही नसोचेको बताउँछिन्l सधैं नयाँ प्रस्तुतिमा लाग्ने सबिनाले यस वर्ष नेपाली नयाँ वर्षको कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थानले खरसाङमा आयोजना गरेको ‘गोर्खा सुन्दरी’ प्रतियोगितामा भाग लिएर चौथो उपविजेता बनिन्l यसै प्रतियोगितामा अनु दाससित भेट भएको थियोl अनु दासले आफूलाई ‘मिसेस ईस्ट इण्डिया ब्युटी पेजेन्ट’मा भाग लिनका लागि हौसला दिएको सबिना बताउँछिन्l दास इन्टरटेनमेन्ट ट्यागलाइन ‘वुमेन्स आर नट ओन्ली फर किचन’ले आफूलाई आकर्षित पारेको उनको भनाइ छl यस क्षेत्रका लागि आफूलाई परिवारबाट सहयोग प्राप्त भएको उनी बताउँछिन्l    

सरिता तामाङ: ‘भोकल फर लोकल’लाई प्रमुखता दिने सरिता तामाङ एकजना उद्यमी महिला हुन्l खरसाङको ७ नम्बर वार्ड शेर्पा बस्ती निवासी सरिताले खरसाङको बर्धमान रोडमा स्थानीय उत्पादनहरूको पसल ‘सरिताज्’ चलाउँछिन्l एकजना छोराकी आमा सरिताको जीवन पसलकै कारणले पनि व्यस्त छl यसै वर्ष १५ अक्टोबरदेखि खरसाङको टुरिस्ट लजमाथि शुरु भएको गोर्खे हाटमा पनि उनी प्रत्येक आइतबार स्थानीय उत्पादनहरूको पसल राख्छिन्l उनको व्यवसायले स्थानीय उत्पादकहरूलाई पनि उर्जा प्राप्त भएको छl आफ्नो व्यस्त व्यावसायिक जीवनलाई डोऱ्याउँदै उनी यस वर्ष गोर्खा सुन्दरी प्रतियोगिता देखि ग्लेमर वर्ल्डको ऱ्याम्पमा पुगिन्l यो हो उनको आत्मविश्वासl गोर्खा सुन्दरीमा पनि ‘पब्लिक च्वाइस’ बनेकी थिइन्l बिहेअघि टीभीमा यस्तै कार्यक्रम हेरिरहने गरेको उनी बताउँछिन्l तर यसरी आफ्नो ठाउँदेखि बाहिर ऱ्याम्पमा पुग्ने उनले सोचेकी थिइनन्l ‘गोर्खा सुन्दरी’को प्रतियोगिता देखि आफ्नो आत्मविश्वास बढेको उनी बताउँछिन्l यस क्षेत्रमा प्रवेश गर्नका लागि परिवारबाट सहयोग र हौसला पाएको बताउँछिन्l उनी भन्छिन्, ‘प्रतियोगिताअघि एक हप्ता स्टुडेन्टले जस्तै ट्रेनिङ गऱ्यौंl’ यसबाट धेरै विषयमा सिक्नसकेको उनी बताउँछिन्l

सरस्वती थापा: दुईजनाकी आमा सरस्वती थापा एकजना गृहिणी हुन्l डिफेन्समा कार्यरत रहेका उनकी श्रीमान साथै परिवारले उनलाई यस प्रतियोगितामा पुग्नका लागि धेरै सहयोग गरेको सरस्वती थापा बताउँछिन्l चिम्नी-देवरालीको गाउँ मझुवा बस्तीमा जन्मिएकी सरस्वतीलाई यस क्षेत्रमा आमाले विशेष रुपमा हौसला दिएको बताउँछिन्l तर यस वर्ष जुलाई महिनामा प्रेरणा साथै हौसला दिने ममतामयी आमाको देहावसान भएको हुँदा उनलाई वज्रपात पऱ्योl सिटोङमा बिहे भएपछि गएको १० वर्षदेखि खरसाङको मिडल डुमाराममा घर किनेर बस्दै आएकी छिन्l पारिवारिक जिम्मेदारी निर्वाह गर्दै उनी ग्लेमर वर्ल्डमा प्रवेश गरिन्l दास इन्टरटेनमेन्टको ट्यागलाइनबाट प्रभावित भएकी सरस्वती भन्छिन्, ‘मेरो आत्मविश्वास बढ्योl म बोल्न सक्ने भएँl’ नानीहरूसित रमाउने सरस्वती नानीहरूकै विकास गर्ने निकाय आईसीडीएसमा हेल्परको रुपमा कार्यरत छिन्l यता नाजिकमा यस्तै प्रतियोगिता आयोजना भए उनी भाग लिन तैयार छिन्l

दास इन्टरटेनमेन्टको टीम: महिलासशक्तिकरणको दिशामा दास इन्टरटेनमेन्टले छुट्टै किसिमले भूमिका निर्वाह गर्दै आएको छl यसका सीईओ अनु दस हुन् भने उनी छोरी जेनिफर लबर एमडी हुन्l जेनिफर एकजना मोडल हुन् भने हालमा सबैको मनपर्दो डीजे हुन्l सञ्जना सुन्दास, एक्जेक्युटिभ हेड, पुजा शर्मा ओपरेशनल हेड, सपना मुखिया र नर्पन शिपानी अफिस कोअर्डिनेटर, पवन दियाली इभेन्ट म्यानेजरl पवन दियाली सुपरिचित गायक हुन्l                       

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement