दार्जीलिङ्ग: हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिता जोन बोनिफेसको आज बिहान ३:५५ मा निधन भएको एडवर्डले आफ्नो आधिकारिक फेसबुकबाट जानकरी गराएका छन्। एडवर्डले आफ्नो फेसबूकमार्फत् उक्त जानकारी दिँदै लेखेका छन्- ‘धेरै दु:खकोसाथ मेरा बुवा जोन बोनिफेसको लामो समयदेखि बिरामी रहनुभएपछि आज बिहान ३.५५ बजे निधन भएको छ। उहाँले हामी सबैको लागि हिजो मेनुसहित सम्पूर्ण परिवारसँग क्रिसमस गेट टुगेदरको आयोजना गर्नुभएको थियो। हामी सबै परिवारलाई उहाँको जीवनको उपहारको लागि म ईश्वरलाई धन्यवाद दिन्छु। हामीलाई थाहा छ कि ईश्वरले उहाँलाई स्वर्गमा लैजानुभएको छ।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिताको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापाले आफ्नो फेसबुक पेजमार्फत् गहिरो शोक समवेदना प्रकट गरेका छन्। उनले शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै अजय एडवर्डका पिता एकजना असल इन्टरपेनर र जनसेवक थिए भनी बताएका छन्।