सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा अपरेसन चलाएर मटिगढा थानाको ह्वाइट कलर पुलिसले फेरि ठूलो सफलता हासिल गरेको छ। पुलिसले कारबाहीका क्रममा एक युवकको साथबाट ठूलो परिमाणमा लागुऔषध सुई बरामद गरेको छ। आइतबार दिउँसो करिब ४ः३० बजे गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा मटिगढाको लालपुल नजिकैको इलाकामा एक युवकलाई पक्राउ गरी खोजी गर्दा उनको साथबाट ६० थान लागुऔषध सुई बरामद भएको हो। पक्राउ परेका युवकको नाम अजय चौहान, उमेर २५ वर्ष रहेको छ। उनी त्रिपालीजोट बानियाखारीका बासिन्दा हुन्। सादा पोसाकमा आएका मटिगढा पुलिस थानाले यत्रो परिमाणमा लागुऔषध इन्जेक्सन कसरी ल्याएको र कहाँ लैजान खोजेको भन्ने विषयमा अनुसन्धान थालेको छ। युवकलाई सोमबार सिलगढी डिभिजनल अदालतमा पेश गरिनेछ।