गान्तोकः भारत सरकारको खाद्य प्रशोधन मन्त्रलयको प्रायोजनामा राज्य सरकारको उद्योग एवं वाणिज्य विभागले आज राजधानीको एउटा होटलमा सिक्किम अर्ग्यानिक फुड सम्मिट आयोजना गरेको थियो जसको ऊर्जा एवं श्रम मन्त्री एमएन शेर्पाले विधिवत उद्घाटन गरे। यो फुड सम्मिट सिक्किमका उद्यमीहरूद्वारा उत्पादित विभिन्न उत्पादको प्रदर्शनी एवं बिक्री र सम्बन्धित विषयमा सम्मेलन गरेर दुई भागमा आयोजना गरिएको थियो।
यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य राज्यका उद्यमीहरूलाई खाद्य प्रशोधनको क्षेत्रमा भारत सरकारले के कस्ता सहयोग प्रदान गर्ने गरेको छ भन्ने बारेमा जानकारी गराउनु रहेको वाणिज्य एवं उद्योग विभागका आयुक्त एवं सचिव एसके शर्माले बताए। उनले जानकारी गराएअनुसार भारत सरकारको खाद्य प्रशोधन मन्त्रालयले हालको कोभिड महामारीको समय प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीबाट फ्रामिनिस्टर फर्मलाइजेशन अफ् फुड प्रोसेसिङ इन्टरप्राइज योजना लागु गरेको जसअन्तर्गत उद्यमीहरूका निम्ति धेरै सुविधाहरू रहेको छ। ती सुविधाहरूबारे सिक्किमका उद्यमीहरूलाई वगत गराउनु पनि यस कार्यक्रमको उद्देश्य रहेको सचिव शर्माले थप बताए।

सम्मेलनको उद्घाटनीय अवसरमा विशेष अतिथिको रुपमा उपस्थित खाद्य प्रशोधन मन्त्रालयका आर्थिक सल्लाहकार कुन्तल सेनसर्माले भारत सरकारको खाद्य प्रशोधन मन्त्रालयले लागु गरेका विभिन्न योजना र त्यसबाट हुने लाभ बारे जानकारी गराए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री एमन शेर्पाले पनि खाद्य प्रशोधन अनि कृषिको क्षेत्रमा रोजगार र जिवीकोपार्जनको अवसरमाथि प्रकाश पार्दै युवाहरूलाई यस क्षेत्रतर्फ प्रोत्साहित गरे। मन्त्रीले भारत सरकारलाई प्रतिनिधित्व गरेर आएका अधिकारीहरूलाई सम्बोधन गर्दै कतिपय नियमलाई सिक्किम जस्तो पहाड़ी क्षेत्रलाई ध्यानमा राखेर संशोधन गर्ने अपील पनि गरे। यसको साथै सिक्किमबाट पठाइएका परियोजनाका प्रस्तावहरूलाई अविलम्ब मञ्जुरी गिदिने माग पनि राखे।