गान्तोक: पूर्व मुख्यमन्त्री पवन चामलिङ, एसडीएफ पार्टी तथा चामलिङको परिवारले किराँत राई समुदायको साकेवा पर्वलाई लिएर राजनीति शुरु गरेको गम्भीर आरोप लगाइएको छ। पवन चामलिङ तथा एसडीएफ पार्टी सत्ता बाहिर गएपछि सिक्किमका राई समुदायलाई हतियार बनाएर राजनीति शुरु गरेका तथा साकेवा समारोहमा पनि विभाजनको प्रयास गरिरहेका सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले शनिवार आरोप लगाएका हुन्।
पवन चामलिङ र उनको परिवारले कथित राई सुरक्षा समिति गठन गरेर सिक्किमका राईहरूलाई विभाजन गर्ने प्रयास गरेका साथै अखिल किराँत राई संघ, सिक्किमले पालन गर्ने साकेवाको मूल समारोहलाई गोले साकेवा संज्ञा दिएर राई जातिको एकता फुटाउ प्रयास चामलिङले गरेका जेकब खालिङले आरोप लगाए।
साकेवा पर्व मनाउनु सबैको अधिकार भए पनि लेगसेपमा 30 दिसम्बरमा आयोजना गरिने भनिएको साकेवा पूर्ण रूपले एसडीएफ प्रायोजित रहेको र उक्त समारोह पर्व भन्दा बडी एसडीएफ पार्टीको कार्यक्रमका रूपमा पालना गरिने प्रयास भइरहेको खालिङले दाबी गरेका छन्।
30 दिसम्बरमा पालन गरिने समारोहका लागि राई जातिका मानिसहरूबाट आर्थिक सहयोग उठाउने काम पनि भएको र त्यो रकमलाई एसडीएफ पार्टीको कार्यक्रम आयोजना गर्न खर्च गरिंदैछ भन्ने आरोप लगाउँदै साकेवालाई लिएर राजनीतिकरण नगर्न खालिङले चामलिङलाई चेताउनी दिए। लेगसेपमा आयोजन गर्ने कार्यक्रमका लागि कतिपय सरकारी कर्मचारी र सरकारी सङ्गठनमा आवद्ध मानिसहरू पनि अर्थ सङ्ग्रह र प्रचार प्रसारमा लागेका आरोप लगाउँदै उनीहरूमाथि सरकारले कारबाही गर्ने पनि खालिङले चेताउनी दिए। पवन चामलिङले सिक्किमका राई समुदायलाई जातिय जालमा फसाउने प्रयास गरिरहेको जसको पर्दाफास गरिछोड्ने जेकब खालिङले बताएका छन्।