दार्जीलिङ: दार्जीलिङ हिल म्याराथन अन्तर्गत यसपाली १०औं संस्करणको दार्जीलिङ हिल म्याराथन २०२३ सम्पन्न भएको छ। दार्जिलिङ पुलिसको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिने यो दार्जीलिङ हिल म्याराथनमा यसपाली लगभग २५०० जना धावकहरले भाग लिएका थिए। उक्त म्याराथनमा यसपाली स्थानीयहरू लगायत भारतभरिका साथै विदेशबाट पनि धावकहरूले भाग लिएका थिए।

यसपालीको दार्जीलिङ हिल म्याराथनको थिम ‘ड्रग्समुक्त दार्जीलिङ रहेको थियो। यसपाली दार्जीलिङ पुलिसको आयोजनामा सम्पन्न भईरहेको तीन दिवसीय मेलो फेस्टको तेस्रो तथा अन्तिम दिन गिल म्याराथनको आयोजना गरिएको थियो। यस म्याराथनमा यसपाली पुरूष, महिलासहित उमेर अनुसार वर्ग छुट्टाएर अायोजना गरिएको थियो जसमा 5 किलोमीटर, १० किलोमीटर र २० किलोमीटर राखिएको थियो। यसमा महिलाहरूको लागि ओपेन, ३५ वर्षदेखि माथि र ४५ वर्षदेखि माथि गरिएको थियो। त्यसरी नै पुरूषमा पनि ओपेन, ३५ वर्षमाथिको र ४५ वर्षमाथिको वर्ग रहेको थियो। यस हिल म्याराथनमा महिला वर्गमा प्रथम हरियाणाकी सोनिका, दोस्रो दार्जीलिङकी सन्तोषी श्रेष्ठ र पश्चिम बंगालकी लिली दास तेस्रो भइन्। त्यसरी नै पुरूष वर्गमा प्रथम विदेशी धावक हेनरी किप्रोनो, दोस्रो पनि विदेशी धावक चेरूयोट टु र तेस्रो दिल्लीको नरेन्द्रसिंह रावत भएका छन्।

उक्त दार्जीलिङ हिल म्याराथन २०२३ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले यसपाली सम्पन्न हिल म्याराथनमा लगभग २५०० जनाले भाग लिएको र यस म्याराथनको राम्रो रेस्पोन्स आएको बताए। उनले यसपाली तीन दिवसीय मेलो फेस्ट पनि आयोजना गरिएको र यही तीन दिवसीय मेलो फेस्टको तेस्रो दिन हिल म्याराथन आयोजना गरिएको जसमा स्थानीय, राष्ट्रिय र विदेशी धावकहरूले पनि भाग लिएको बताए। पुलिस अधीक्षक प्रवीण प्रकाशले हिल म्याराथनमा विभिन्न तयबाट सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।