सुम्बुक वरिष्ठ माध्यमिक विद्यालयले पालन गऱ्यो शतवार्षिकी समारोह

n56805841817033505945349a034a4f4cc81ea75a41efd3240b1538e66fc89c693bb9680f8af9d610e67dbd.jpg

एसकेएम पार्टी सरकारमा आएपछि शिक्षलाई प्राथमिकता दिएको छः मुख्यमन्त्री तामाङ

गान्तोक: दक्षिण जिल्लाको सुम्बुक सरकारी वरिष्ठ माध्यमिक विद्यालयले आफ्नो शतवार्षिकी समारोह आज विभिन्न कार्यक्रमको साथमा भव्यरूपमा पालन गऱ्यो।

यस समापन समारोहमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्ण कुमारी राई, क्षेत्र विधायक फरवान्ति तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा मुख्यमन्त्री तामाङले शतवार्षिकी सेन्टनेरी पिल्लर, माता सरस्वतीको मूर्ति, बहुउद्देश्यीय प्रेक्ष भवन उद्घाटन गरे। कार्यक्रममा एनआर राईद्वारा लिखित पुस्तक मल्ली दर्पण, एलबी प्रधान एवं समुहद्वारा तयार गरिएको थिम गीत पनि बिमोचन गरियो। यस अतिरिक्त मुख्यमन्त्रीको बाहुलीवाट स्कूल स्थापनाकालका संस्थापक स्वः राई सहेब र हरि प्रसाद प्रधान,जमीन दाता, विद्यालय पूर्व प्रमुख एवं अन्यलाई सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यस विद्यालयको स्थापना भएको सय वर्ष पूरा भएकोमा विद्यालय परिवारलाई बधाई एवं शुभकामना दिए। गत २२ जनवरी, १९२३ मा स्थानीय विद्वानहरूद्वारा सञ्चालन गरिएको यो विद्यालयले आज धेरै प्रतिभाशाली व्यक्तित्वहरू जन्माइ सकेको बताउँदै नर्सरीदेखि वरिष्ठ माध्यमिक विद्यालयसम्म पुग्दा यहाँ अध्ययन गर्ने पूर्व विद्यार्थीहरू सचिवदेखि राज्य राष्ट्रिय तथा अन्तरराष्ट्रियसम्म नाम रोशन गर्ने सफल भएको जानकारी गराए। उनले जानकारी अनुसार, पूर्व मन्त्री गिरिश चन्द्र राई पनि यस विद्यालयका पूर्व विद्यार्थी हुन्।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सरकारमा आएपछि शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएको र १ हजारभन्दा अधिक २३ वर्षसम्म अस्थायीरूपमा काम गरिरहेका शिक्षकवर्गलाई स्थायीकरण गरेको उनले जानकारी गराए। वर्ष २०१५ भन्दा अघि नियुक्त भएका अस्थायी शिक्षकहरूलाई अब जनवरी २०२४ सम्ममा स्थायीकरण गर्ने उनले घोषणा गरे। सरकारी नौकरी बिहिन परिवारका प्रत्येक घरको एक जनालाई नौकरी दिने वचन पनि उनले वचन दोहोऱ्याए।

राष्ट्रिय पुरस्कारले सम्मानित शिक्षकहरूलाई थप उर्जा प्रदान गर्नको निम्ति शैक्षिक भ्रमणको लागि विदेश पठाउने साथै राज्य पुरस्कारद्वारा सम्मानित शिक्षकवर्गलाई देशको विभिन्न राज्यको निम्ति परिवार सहित पठाउने मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गरे। उनले थप बताए अनुसार, संस्कृत शिक्षकहरूको गुनासोलाई सम्बोधन गर्दै उनीहरूलाई पनि अन्य भाषाका शिक्षकहरू बराबर वेतन प्रदान गर्ने सम्वन्धित निकायलाई निर्देश दिइसकेको छ।

सरकारले शिक्षा क्षेत्रमा शुरूवात गरेका विभिन्न योजनामाथि प्रकाश पार्दै मुख्यमन्त्री तामाङले नर बहादुर भण्डारी फेलोशिप योजना, मुख्यमन्त्री छात्रवृत्ती योजना अन्तर्गत निःशुल्क एमबीबीएस, मुख्यमन्त्री छात्रवृत्ति योजना आदि बारे जानकारी गराए। प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालित पाँचवटा स्कूलहरूमा खेलमैदान बनाउने काम भइरहेको छ भने स्कूल भवन, तिमी तार्कुमा कञ्चनजंघा राज्य विश्वविद्यालय, पश्चिम सिक्किमको गेजिङ सञ्चमान लिम्बू स्मृति महाविद्यालय लगायत अन्य धेरै कामहरू भइरहेको उनले थप जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *