प्रथम किस्ती पाएपछि गंगुटिया बनबस्तीका बासिन्दाहरू हर्षित

e5a6b9ca-71f0-415c-9105-13f4fc2c0075

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको दुईवटा बनबस्ती स्थानान्तरण परियोजना अन्तर्गत गंगुटिया बनबस्ती र भोटे बस्तीको क्रमैले १९१ र ५१ परिवारहरूले १५ लाखको आधा किस्ती ७.५ लाख रुपियाँ आ-आफ्नो ब्याङ्क खातामा पसेका छन्।
पश्चिम बंगालको बक्सा ब्याघ्र प्रकल्पको कोर क्षेत्रबाट यो प्रथम स्थानान्तरण परियोजना रहेको बन विभागले जनाएका छन्।
एनटीसीएद्वारा बसाई सराईको क्षतिपूर्ति स्वरूप प्रत्येक १८ बर्षमाथिका सदस्यहरूले १५ लाख रुपियाँ पाउने चुक्ति अनुसार पहिलो किस्ती ७.५ लाख गरेर शुक्रबार गंगुटिया बनबस्ती र भोटे बस्तीका जम्मा २४२ जना गाउँलेहरूको खातामा क्रेडिट गरिएको गाउँलेहरूले बताएका छन्।
शनिबार पहिलो किस्ती रकम पसेको खुसीमा गंगुटिया बनबस्तीका बासिन्दाहरूले राज्यसभा सांसद तथा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक लगायत पार्टी चेयरम्यान गंगाप्रसाद शर्मा र तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव र जिल्ला महासचिव असिम पाख्रिन एवम् अन्यान्यलाई गाउँमा बोलाएर स्वागत जनाउँदै धन्यवाद ज्ञापन गरे।
धेरै बर्षको आवेदन र तृणमूल सरकारको सकारात्मक पहलमा एनटीसीएद्वारा प्रदत बसाई सराईको प्रक्रियाले अन्तिम रुप दिएको र गाउँलेहरूको हरेक दुखमा आफूहरु साथ रहने राज्यसभा सांसद तथा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले जनाएका छन्।
कोर क्षेत्रबाट बाघको संरक्षण गर्ने परियोजना अन्तर्गत नै बनबस्तीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने पहिलो कार्यक्रम बक्सा ब्याघ्र प्रकल्पले एनटीसीएको सहयोगितामा गरेको र यसले दुख पीड़ा खपेर धेरै सालदेखि बसेका गाउँलेहरुलाई सजिलो ठाउँमा गई बसाई सर्ने र विकासको मुख्य धारामा गाउँलेहरू सम्मिलित हुन पाउने र अर्कोतिर जंगली जानवर र बाघले आफ्नै पुरानो वास पाउने बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले जनाएका छन्। पहिलो किस्तीमा गंगुटिया बनबस्तीका १९१ जना र भोटे बस्तीका ५१ जना बासिन्दाहरूलाई जम्मा १८ करोड़ १५ लाख रुपियाँ क्रेडिट गरिएको चीफ वाइल्डलाइफ वार्डन पश्चिम बंगालका देवाल रायले प्रेस विज्ञप्ति मार्फत पनि खुलासा गरेका छन्।

About Author

Advertisement