गान्तोक: दुरदर्शन केन्द्र गान्तोकको पहलमा अमृत काल क्विज प्रतियोगिता २०२३ आयोजना गरियो। राजधानीस्थित इञ्चे गुम्बा परिसरमा सञ्चालित दुरदर्शन केन्द्रमा वरिष्ठ माध्यमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर आयोजित राज्यस्तरीय हाजिरी जवाफ प्रतियोगितामा वन विभागका प्रमुख संरक्षक डा. पी. सेन्थिल कुमार मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने स्वास्थ्य एवम परिवार कल्याण विभागका अतिरिक्त निर्देशक डा. सेलोना मुखिया विशिष्ठ अतिथिकोरूपमा उपस्थित थिए। सो प्रतियोगिता याङगाङ सरकारी उच्चत्तर माध्यमिक विद्यालय, हि- गेथाङ वरिष्ठ माध्यमिक विद्यालय, पीएम सोरेङ वरिष्ठ माध्यमिक विद्यालय र तादोङ होलीक्रस विद्यालय शिर्षस्थानमा रहेको थियो। अमृत काल, प्रधानमन्त्री नरेन्द्र मोदीले २०४७ सम्ममा ‘नयाँ भारत’ को लागि परिकल्पना गरेको एक परिवर्तनकारी २५-वर्षीय योजना हो। यसले भारतको अर्थतन्त्रलाई सुधार गर्न् द्रुत, दिगो विकासलाई बढावा दिने, जीवनस्तरमा सुधार गर्ने, पूर्वाधार र प्रविधिको विकास गर्ने र राष्ट्रमा विश्वव्यापी विश्वास पुनर्स्थापित गर्ने लक्ष्य राखेको छ।

डा. पी सेन्थिल कुमारले आफ्नो सम्बोधनमा हाजिरी जवाफ प्रतियोगितामा तथ्य-जाँचभन्दा बाहिरको कुरामा जोड दिए। उनले समस्या समाधान गर्ने थ्रिल, नयाँ ज्ञान आर्जन गर्ने सन्तुष्टि र सहयोगी प्रयासबाट बनेको बन्धनलाई प्रोत्साहन गर्ने, परिणाम भन्दा पनि यात्राले नै बढी महत्त्व राखेको बताए। उनले सहभागीहरूलाई यस अवसरलाई आफ्नो बुद्धिमत्ता प्रदर्शन गर्न मात्र नभई एकअर्काबाट अन्तरदृष्टि प्राप्त गर्न पनि आग्रह गरे।










