एसडीएफद्वारा मन्त्री सोनाम लामा विरुद्ध सदर थानामा जीडी दर्ता

गान्तोक: राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले सत्ताररुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का मुख्य संयोजक एवं मन्त्री सोनाम लामा विरूद्ध सदर थानामा प्राथमिकी दर्ता गरेको छ।

एसडीएफ पार्टीले मन्त्री लामामाथि जनसाधारणलाई धम्की दिएको आरोप लगाएको छ।

एसडीएफ पार्टीको महासचिव एवं प्रवक्ता रिक्जिङ एन.डी. भोटिया आज गान्तोकको सदर थानामा एसकेएमका एक वरिष्ठ नेता एवं मन्त्री सोनाम लामा विरूद्ध प्राथमिकी दर्ता गरेका छन्। मन्त्री लामाले उनको नेता विरुद्ध आवाज उठाउनेहरूलाई त्यसै जान नदिने र उनीहरूले अकल्पनीय परिणामहरू झेल्नु पर्नेछ भनी जनसाधारणलाई आफ्नो सम्बोधनमा धम्की दिएको प्रवक्ता भोटियाले आफ्नो प्राथमिकीमा आरोप लगाएका छन्। उनले सत्तारुढ़ पार्टीका धेरै वरिष्ठ नेताहरूले आफ्नो जन सम्बोधनहरूमा विपक्षी पार्टीका सदस्यहरूलाई धम्की दिइरहेको र उनीहरूले आफ्नो भाषण अनुरुप काम पनि गरिरहेको आरोप लगाएका छन्।

सत्तारुढ़ पार्टीका नेताहरूको धम्कीका कारण मानिसहरूमा डर र असुरक्षाका साथै घृणाको भावना उत्पन्न भएको खण्डमा हिंसाको स्थिति उत्पन्न हुन सक्ने उनले बताएका छन्। यसले मानिसहरूलाई आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न असुरक्षा महसुस हुने पनि उनले प्राथमिकीमा उल्लेख गरेका छन्। यसर्थ, उनले मन्त्री लामा विरुद्ध उचित कानुनी कारबाही गर्न अनुरोध गरेका छन्।

अर्कोतिर, पुलिसले आफ्नो टिप्पणीमा शिकायतकर्ताको अनुरोधमा जेनरल डायरी (जीडी)गरिएको बताएको छ। पुलिसले यो घटना मल्ली पुलिस स्टेशनको क्षेत्र अधिकारभित्र पर्ने हुनाले शिकायतकर्तालाई सम्बन्धित थानामा सम्पर्क गर्न निर्देशन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement