गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको पाल्जोर स्टेडियममा आयोजित ‘राज्यस्तरीय प्री-क्रिसमस प्रेयर समिट सिक्किम २०२३’ मा मुख्य अतिथिको रूपमा भाग लिए।
मुख्यमन्त्रीको साथमा धर्मपत्नी कृष्ण राई पनि सामेल थिइन्। यस अघि मुख्यमन्त्री तथा अन्य गणमान्य व्यक्तिहरूले राजधानीको एमजी मार्गदेखि पाल्जोर स्टेडियमसम्म आयोजित ऱ्यालीमा सहभागी बनेका थिए।
कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्री तामाङले अतिथि वक्ता डा. पावल दिनाकरणलाई स्वागत जनाउॅंदै समाजमा सकारात्मक परिवर्तन ल्याउन उनले गरेका प्रयासहरूको सराहना गरे। उनले क्रिसमस उत्सव केवल सजावट मात्र होइन, तर नि:स्वार्थ प्रेम र भाइचारा दर्साउनु पनि रहेको बताए। उनले क्रिसमसको मौसममा व्यक्तिहरूले आफ्नो समुदायको उन्नतिको निम्ति कार्य गर्न सक्नेछन् भनी आशा व्यक्त गरे।
मुख्यमन्त्री तामाङले सरकारका उपलब्धीहरूमाथि प्रकाश पार्दै वर्तमान सरकारमा सबै धर्मावलम्बीहरूले पाएको स्वतन्त्रताको बारेमा अवगत गराए। उनले हालैमा परमपावन दलाई लामाको सिक्किम भ्रमण र जोरथाङमा पण्डितहरूको जमघट राज्यमा धार्मिक स्वतन्त्रताको उदाहरण रहेको बताए।
कार्यक्रममा सिक्किम सरकारका मन्त्रीगण, विधायकगण, लोकसभा सांसद, मुख्यमन्त्रीका राजनीतिक सचिव, अतिथि वक्ताहरू तथा अन्य गणमान्य व्यक्तहरूको उपस्थिति रहेको थियो।










