मिरिक: यो समर्थन अनित थापा र भागोप्रमोलाई होइन। यो समर्थन पहाडको नयाँ सोच, विचार, कर्म अनि कार्यशैलीलाई समर्थन हो। समष्टिका प्रतिनिधिको कार्य र पार्टीको प्रगतिशील विचारलाई समर्थन हो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा बताएका हुन्। उनले भागोप्रमोद्वारा मिरिकमा आयोजित वृहत जनसमर्थन कार्यक्रमलाई सम्बोधन भने, ‘आज समर्थन गर्नेहरू हाम्रो विचार पहाडमा रोप्ने बीजन हुन्, हामी काम गर्दै जानुपर्छ, फ्याउराहरु कराउँदै गर्छन्। मलाई दुख्यो भने पहाडलाई दुख्छ। भागोप्रमोलाई दुख्यो भने पहाड निर्माणको अभियानमा अवरोध आउँछ। शिक्षा व्यवस्थालाई कसरी ठीक गर्ने त्यो कार्य प्रणालीमा हामी छौं। राजनैतिक पार्टी खोलेर हामीभन्दा राम्रो काम गर। आज सामेल हुनेहरू तपाईंकोमा आउनेछन्।’
भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले अघि भने, ‘हामीलाई जातिको गद्दार भन्छन्। तर जसले भन्दैछ उसले जातिको निम्ति के गर्यो ? देखाउनु। हामीले जातिको नाममा राजनैतिक व्यापार गर्ने महागद्दार देखेका छौं। हामी गार्हो यात्रा हिँडेर यहाँ पुगेका हौं। पहाडलाई सही गन्तव्यमा पुर्याउनु सही दिशा दिनुपर्छ भनेर काम गर्यौ। हामी सबैलाई गोर्खाल्याण्ड चाहिन्छ। यो केन्द्रले दिने कुरा हो। हामीले जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर गृह विभागमा पठायौं। हाम्रो क्षमता भनेको त्यहींसम्म हो। चुनाउ आउने बेलामा गोर्खाल्याण्ड भनेर कराउनु हुँदैन। न त हामी अत्तालिनु हुँदैन।आवाज उठाउने समय हुन्छ। त्यो सही आवाज सही समयमा उठ्नेछ। लोकसभा चुनाउ नजिक छ। कुन निर्णयले हाम्रो समाज, जाति अनि पहाडलाई फाइदा हुन्छ त्यो निर्णय लिनेछौं। हामीलाई जातिको लड़ाई कसरी लड्नुपर्छ त्यो जान्दछौं।’
उनले अझ भने, ‘माटो फर्काउने अभियान (जमीनको पट्टा) मा हामी छौं। हामी केन्द्र अनि राज्य सरकारको दुश्मन होइन। सबैसँग मिलेर पहाडको निम्ति काम गर्नुपर्छ। हामी कामलाई टुंगोमा पुर्याउने काम गर्छौं। हाम्रो जातिको माटो, हाम्रो नाममा हुनुपर्छ। माटो फर्काउने अभियान हाम्रो अघिल्लो अभियान हुनेछ।नेता भएपछि जन आकाङ्क्षाको कदर गर्नुपर्छ। जमीनको लडाई सजिलो लडाई चाहिँ होइन। मुख्यमन्त्रीले दिन्छु भन्यो भन्दैमा सुत्नु हुँदैन। यसमा लागि पर्नुुपर्छ।” थापाले अझ भने, ‘अहिले हामी गुमाई सकेको व्यवस्था फर्काई ल्याउने काम गर्दैछौं। हामीलाई भोट दिएर जिताउने जनता सबैभन्दा ठूलो हुन्। उहाँहरुको सुरक्षा नै हाम्रो प्रमुख कर्तव्य हो।’

भागोप्रमो पार्टीको सांगठनिक विषयमा बोल्दै भागोप्रमो अध्यक्ष अनित थापाले अब उसो पार्टीको सबै निर्णय केन्द्रीय कार्यकारिणी समितिले लिनेछ अनि पार्टी सिस्टममा चल्नुपर्छ भनी बताए।









