सिलगढी: श्रीराम जन्मभूमि तीर्थ क्षेत्र अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान श्रीरामको मूर्ति प्रतिष्ठापन कार्यक्रममा उत्तर बंगाल प्रान्तको पक्षमा मंगलधाम कालेबुङका गादिपति महन्त गुरुजी श्री १०८ मोहन प्रियाचार्य महाराजलाई आधिकारिक निमन्त्रणा आएको एक विज्ञप्तिमा बताइएको छ। आउँदो वर्ष २२ जनवरीमा सम्पन्न हुने अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरमा भगवान श्रीरामको मूर्ति प्रतिष्ठापन कार्यक्रममा सहभागी हुन गादिपति महन्त गुरुजी श्री १०८ मोहन प्रियाचार्य महाराजलाई श्री राम जन्मभूमि तीर्थ क्षेत्र भगवान श्री राम मूर्ति प्रतिष्ठापन कार्यक्रम आयोजक समितिका महासचिव श्री चम्पत रायको हस्ताक्षर भएको निमन्त्रणा पत्र आएको छ।
विश्वभरमा नै प्रथमपल्ट हुन गइरहेको यस कार्यक्रममा यस क्षेत्रलाई प्रतिनिधित्व गर्न गुरुजी श्री मोहन प्रियाचार्य महाराजको नाममा निमन्त्रणा पत्र आउनु सबैको निम्ति गर्वको विषय रहेको विज्ञप्तिमा बताइएको छ। उक्त दिन प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीबाट मन्दिरको गर्भगृहमा भगवान श्रीरामको मूर्ति प्राण प्रतिष्ठा गरी मन्दिरको समुद्घाटन गरिनेछ। देशभरिका चार हजार विशिष्ट अधिकारिक प्रतिनिधिहरू, चार हजार विशिष्ट साधु, सन्यासी, महन्त र शिष्टमण्डली प्रतिनिधिहरूलाई मात्र अधिकारिक रूपमा यस कार्यक्रममा सहभागी हुन श्री राम जन्मभूमि तीर्थ क्षेत्र मन्दिर निर्माण ट्रष्टद्वारा निमन्त्रणा पत्र पठाइएको विज्ञप्तिमा बताइएको छ।










