कालचिनी: भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका सदस्यहरुले आज कालचिनी खण्डको डिमा चियाबारी लगायत कालचिनी र राईमाटाङ चियाबारीको अस्पताल परिसरहरुमा एवम् निमती रोड संलग्न क्षेत्रमा बन महोत्सव पालन गर्ने क्रममा वृक्षारोपण सम्पन्न गरेको जानकारी भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका प्रभारी घनश्याम उराँवले जनाएका छन।
आज कार्यक्रमको शुभारम्भ डिमा चियाबारीबाट गरिएको थियो भने उक्त अवसरमा आदिवासी समाजसेवी डा.कमल कुजूरको करकमलबाट वृक्षारोपण शुरु गरिएको थियो।
कार्यक्रममा एयर स्काउट्स एण्ड गाइड्सका सदस्यहरु लगायत स्थानीय युवा पीढ़ीलाई प्रकृति संरक्षणबारे अतिथि डा. कमल कुजूरले सचेतना गराएको थियो भने यो मानसूनी मौसममा अहिले बिरुवा रोपण गर्नाले रुखपात बाँच्ने गर्नाले वृक्षारोपण गर्न यो महीना उपयुक्त रहेको र सबैले वृक्षारोपण गर्न अघि बढ़ने आह्वान पनि गरिएको थियो।
एयर विंग्स स्काउट्स एण्ड गाइड्सका कालचिनी ब्लक प्रभारी घनश्याम उराँवले विशेषगरी बन महोत्सव सबै स्तरबाट पालन भईरहेको र यो महीना गो ग्रीनको नारासितै अधिक भन्दा अधिक बिरुवाहरु लगाउने लक्ष्य रहेको जनाएका छन।









