बाग्राकोटः सिक्किम निवासी वरिष्ठ साहित्यकार सुवास दीपकलाई यस वर्षको ‘बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ अर्पण गरिने निर्णय लिइएको छ। पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा मतिगड़ास्थित उनको निवासमा आज बसेको चयन समितिको बैठकले विशिष्ट साहित्यसाधक सुवास दीपकलाई १३औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गर्ने निर्णय लिएको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले जानकारी दिएका छन्। उल्लेखनीय छ, सन् २०१२ देखि प्रत्येक वर्ष बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानद्वारा सर्वभारतीय स्तरमा यो पुरस्कार नेपाली साहित्यका विशिष्ट साहित्यकारलाई अर्पण गरिँदै आएको छ। आगामी १४ जनवरी, २०२४ का दिन बाग्राकोट, डुवर्समा आयोजन हुने ९६औँ बद्रीनारायण प्रधान स्मृति जयन्तीको अवसरमा एक भव्य समारोहमा सुवास दीपकलाई पुरस्कारद्वारा अलङ्कृत गरिने प्रतिष्ठानले जनाएको छ।
१ अप्रेल, १९४८ मा पञ्जाबको काङ्गड़ामा जन्मिएका सुवास दीपकको वास्तविक नाम सुभाषचन्द्र डोगरा हो। नेपाली साहित्यमा उनी सुवास दीपकका नामले चिरपरिचित छन्। भारतीय सेनामा सिक्किममा कार्यरत् आफ्ना दाजुसँग उनी 18 वर्षको उमेरमै सिक्किम आएका थिए। अवकाशपछि आफ्ना दाजु स्थायी रूपमा सिक्किम बसेपछि उनी पनि सिक्किमकै वासिन्दा भए। पाँच दशकभन्दा लामो समयदेखि साहित्यको मौलिक र अनुवाद दुवै क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका सुवास दीपकका नेपालीमा चारवटा मौलिक कृति प्रकाशित छन्, जसमा ‘अभिषेक’ (सिक्किमबाट प्रकाशित प्रथम बाल उपन्यास/१९८०), ‘साक्षात्कार’ (अन्तरवार्ता सङ्ग्रह/१९८७), ‘आधारशिला’ (कविता सङ्ग्रह/१९९३), ‘भाषा मान्यता’ (सम्पादकीय विचार सङ्कलन/१९९५) आदि प्रमुख छन्। हिन्दीमा उनका सातवटा मौलिक कृति प्रकाशित छन्। यसैगरी, अनुवादको क्षेत्रमा सुवास दीपकको एउटा विशिष्ट स्थान छ। उनले नेपालीबाट हिन्दी, हिन्दीबाट नेपाली, डोगरीबाट नेपाली, अङ्ग्रेजीबाट नेपाली र अङ्ग्रेजीबाट हिन्दी गरी झण्डै दुई दर्जन पुस्तकको अनुवाद गरेका छन्। उनलाई सन् २००३ मा डोगरी उपन्यास ‘पल-खिन’-को नेपाली अनुवादका लागि साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त भएको थियो। श्री दीपकले एक दर्जनजति पत्र-पत्रिका तथा पुस्तकहरूको सम्पादन गरेका छन्। यसै वर्ष डा. देवचन्द्र सुब्बाले उनीमाथि गहन अध्ययनसहितको एउटा जीवनी प्रकाशमा ल्याएका छन्। पत्र-पत्रिकाको खड़ेरी परेको अवस्थामा उनले १९८१ देखि तीन दशकभन्दा लामो समयसम्म ‘विचार’ साप्ताहिक पत्रिका सम्पादन/प्रकाशन गरेर नेपाली साहित्य र पत्रकारितालाई ठूलो गुण लगाएका छन्। सुवास दीपक एक ख्यातिप्राप्त अनुवादक हुन। उनले हालै कालजयी नेपाली कथाहरूको चयन गरी हिन्दीमा अनुवाद गरेका छन्, जसको नाम ‘भारतीय नेपाली कहानीः एक सदी का सफर’ (१९२०-२०२०/प्रथम खण्ड) रहेको छ। उनलाई केही दिनअघि सिक्किमबाट ‘काशीराज प्रधान लाइफटाइम जर्नलिज्म अवार्ड’ प्राप्त भएको छ। पाँच दशकभन्दा लामो समयदेखिको उनको लेखन तथा अनुवादकार्य विशिष्ट महत्त्वको रहेको नेपाली साहित्यका अध्येताहरूको भनाई छ। उनलाई केही महत्त्वपूर्ण राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त छन्।
१३औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारका लागि श्री सुवास दीपकलाई चयनित गर्न पाउँदा आफूहरूलाई धेरै हर्ष लागेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका पदाधिकारीहरूले जनाएका छन्। पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले उनको नाम चयन भएको विषय अवगत गराउँदै भने, “सुवास दीपक एक होनहार र समर्पित साहित्य साधक हुन्। उनले अनुवादमार्फत नेपाली साहित्यलाई गैर-नेपालीभाषी पाठकहरूका माझमा व्यापक पहुँच दिएका छन्। उनी अतुलनीय छन्।” यसैगरी, प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले बद्रीनारायण प्रधान र सुवास दीपकबिचको पुरानो सम्बन्धको उल्लेख गर्दै भने, “अस्सीको दशकको शुरुआती वर्षहरूमा नेपाली साहित्यमा इन्द्रबहादुर राई र बद्रीनारायण प्रधानबिच चलेको चर्चित बहसलाई आफ्नो पत्रिका ‘विचार’-मा प्रमुखताका साथ स्थान दिएर उनले त्यसबेलै साहित्यमा प्रखर आलोचनात्मक धारालाई प्रोत्साहित गरेका थिए।” प्रत्येक वर्षको जनवरी महिना पश्चिम डुवर्सको बाग्राकोट बद्रीनारायण प्रधानमय हुने गरेको छ।









