एसकेएम-ले पालन गऱ्यो १५औं स्थापना दिवस

IMG-20231222-WA0001.jpg

प्रत्येक परिवारलाई चुनाउ अघि जनवरी महिनाभित्र एउटा-एउटा सरकारी नोकरी दिनेः मुख्यमन्त्री तामाङ

जोरथाङ: खोला तरेर लौरो बिर्सने मान्छे होइन पीएस गोले, आफ्ना पुराना क्रान्तिकारी साथीहरूलाई सम्झना गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले भने। उनी यहाँको रालु मन्दिर परिसरमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको 15औं रोलू दिवसलाई सम्बोधन गर्दै थिए। २००९ मा यसै रोलू बगरबाट तत्कालिन एसडीएफ सरकार विरुद्ध विद्रोहको शङ्खघोस गर्दाका केही क्रान्तिकारी साथीहरूले अझै न्याय पाएको छैनहोला भन्दै तर समयमा सबैलाई न्याय दिने मुख्यमन्त्री तामाङले प्रतिवद्धता जाहेर गरेका छन्। “२१ दिसम्बर २००९मा म जुन पीएस गोले थिएँ, अहिले पनि त्यही गोले छु। म अलिकति पनि परिवर्तन भएको छुइन। मैले पुराना साथीहरूलाई भुलेको छुइन”, उनले भने।

एसकेएम पार्टीले विगत वर्षहरू जस्तै यस वर्ष पनि भव्यतासित रोलू दिवस पालन गऱ्यो। आजको १५औं रोलू दिवस कार्यक्रममा अहिलेसम्मका सबैभन्दा अधिक जनसहभागिता रहेको पार्टीको दावी रहेको छ। कार्यक्रममा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रम स्थलमा आउन अघि मुख्यमन्त्रीले छेवैको रोलू मन्दिरमा विशेष पूजा पनि गरे।

आज आफ्नो सम्बोधनको आरम्भमा मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टी स्थापना हुन अघिदेखि नै गोले खेमाको नाममा आफूलाई साथ दिने पुराना साथीहरूलाई सम्झना गरे। विभिन्न प्रकारको दबाउ र प्रलोभनमा पनि नटुटेका अनि नझुकेका क्रान्तिकारी योद्धाहरूको कारण आज राज्यमा परिवर्तन आएको बताउँदै ती क्रान्तिकारीहरूको कारण नै मेरो विकल्प छैन भन्ने व्यक्ति (पूर्व मुख्यमन्त्री पवन चामलिङ) आज सिक्किमे जनतालाई माफी माग्दै हिँड़िरहेको पनि उनले थप बताए। “तर, अहिले जनतालाई जति नै माफी मागे पनि २५ वर्षसम्म तानाशाही र भ्रष्टाचारी रहेका व्यक्ति तानाशाही र भ्रष्टाचारी नै रहनेछ”, उनले भने।

सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले विभिन्न प्रतिकूल परिस्थितिबीच पनि एसकेएम सरकारले सिक्किम र सिक्किमेको हितमा उल्लेखनीय कार्य गरेको दावी गरे। एसकेएम सरकारले विशेष गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछिल्ला २५ वर्षमा पनि नभएको काम गरेको उनले दावी गरेका छन्। यसरी नै पूर्वको एसडीएफ सरकारले विगत २५ वर्षसम्म केवल चुनावी मुद्दा बनाएको सिक्किमे नेपाली समुदायमाथि लागेको विदेशीको कलङ्कलाई आफ्नो सरकारले केवल २७ दिनमा मेटाएको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गरे।

आज मुख्यमन्त्रीले केही महत्वपूर्ण घोषणा पनि गरे जसमा एकैजना पनि सरकारी नोकरीवाला सदस्य नभएका प्रत्येक परिवारलाई चुनाउ अघि जनवरी महिना भित्र एउटा-एउटा सरकारी नोकरी दिने प्रमुख रहेको छ। यसरी नै जनवरी महिना भित्र नै २०१४-१५ मा नियुक्त भएका शिक्षकहरूलाई स्थायी गर्ने, युवाहरूलाई डिजिटल रोजगार प्रदान गर्न सिक्किम क्रिएटप्रिनियर योजना लागु गर्ने, चालकहरूलाई १० लाख रुपियाँको जीवन वीमा गरिदिने, महिलाहरूलाई वर्षमा चारवटा ग्यास सिलिण्डर निःशुल्क प्रदान गरिने, जनवरी महिना भित्रमा वान फेमिलि वान जब (ओएफओजे) का कर्मचारीहरूलाई स्थायीकरण गर्ने, पुरानो पेन्सन योजना साथै वान ऱ्यान्क वान पेन्सन योजना लागु गर्ने आदि प्रमुख रहेको छ।

४ अक्टोबरको टिस्टा जलप्रलयलाई “चामलिङ मेड डिजास्टर”-को संज्ञा दिँदै पूर्वको सरकारमा भएको गल्तीले निम्ताएको आपदालाई वर्तमान सरकारले सबैलाई राहत प्रदान गरेको मुख्यमन्त्रीले बताए। यसको साथै पूर्व सरकारले गरेको कथित गल्ती तथा भ्रष्टाचारको लेखाजोखा भइरहेको र चाँड़ै कार्यवाही हुने पनि थप बताए।

आजको कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाड़ी निर्मल छेत्री, जिल्ला पञ्चायत दुर्गा प्रसाद शर्मा उर्फ विकास दाहाल र युवा इन्फ्लूएन्सर सञ्जय दिलपाली राई एसकेएम पार्टीमा सामेल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement