गान्तोकः नामग्यल इन्स्टीट्यूट अफ् टिबेटोलोजीले राज्यका विभिन्न सङ्घ संस्थासितको सहकार्यमा आगामी २२ मईको दिन सिक्किमका १२औं तथा अन्तिम छोग्याल (राजा) पाल्देन थोण्डुप नामग्यलको सत वार्षिकी जन्मोत्सव पालन गर्ने भएको छ। एनआइटी-का सचिव डब्ल्यूटी रिञ्जिङले आज राजधानीमा एउटा पत्रकार सम्मेलन डाकेर यो जानकारी दिएका हुन्। उनले जानकारी गराएअनुसार एनआइटी-ले करिब ३१ वटा सङ्घ संस्थासित मिलेर छोग्याल पाल्देन थोण्डुप नामग्यलको एक सयौं जन्मजयन्तीको अवसरमा यो वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्ने निधो गरेको छ।
२२ मईको मुख्य कार्यक्रम भने दुई भागमा आयोजना गरिएको जसको पूर्वार्धमा एमजी मार्गमा राज्यपाल गंगा प्रसादद्वारा तिब्बती चिकित्सा पद्धती सवारिक्पा-को निःशुल्क स्वास्थ्य शिविरलाई विधिवत उद्घाटन गर्नेछन् भने उत्तरार्धको कार्यक्रममा देउरालीस्थित पाल्देन थोण्डुप नामग्यल उद्यान र एनआइटी परिसरमा हुनेछ। उत्तरार्धको कार्यक्रममा मुख्यमन्त्री पीएस गोलेको उपस्थिति रहने प्रवल सम्भावना रहेको बताउँदै उद्यानमा अवस्थित छोग्याल पाल्देन थोण्डुपको प्रतिमामा अतिथिद्वारा खादाअर्पण पछि एनाइटी परिसरमा विविध सांस्कृत कार्यक्रम सम्पन्न हुने सचिव रिञ्जिङले थप बताए। उल्लेखनीय छ, स्व. छोग्याल पाल्देन थोण्डुप नामग्यल एनआइटी-का संस्थापक अध्यक्ष थिए जसले १८ वर्षसम्म उक्त पदमा रहेर यस संस्थानको देखभाल गरेका थिए।
छोग्याल पाल्देन थोण्डुप नामग्यलको सम्झनामा उनको सत वार्षिकी जन्मोत्सवलाई अवसर पारेर वर्षका विभिन्न समयमा साहित्यिक गोष्ठी, चित्रकला, साहित्यिक कार्यक्रम र आर्चरी खेल आयोजना गरिने आयोजक समितिको पक्षमा सिक्किम सरकारका पूर्व सचिव, कलाकार एवं वास्तुकार किरण रसाइलीले बताए। उनले बताएअनुसार छोग्याल पाल्देन थोण्डुप नामग्यल आधुनिक सिक्किमका पिता हुन् जसले राज्यमा विभिन्न पूर्वाधारहरूको निर्माण गरेका थिए जुन अझै पनि जिवन्त र पारसङ्गिक छ।