हात्तीको झुन्डको आक्रमणबाट भाग्यले बाँच्यो माझी परिवार

99217421-5fad-4ba1-a68b-e9ecd2b6a5c3

कालचिनीः बुधबार राती लगभग ११.३० बजी लगभाग ३५ वटा संख्यामा रहेको जंगली हात्तीको झुन्ड कालचिनी आउट डिभिजन बुखिमबारी गाउँको कोठी लाईनमा पस्दा उक्त हात्तीको झुन्डले कमानको म्यानेजर बङ्गलो लगायत एउटा श्रमिकको घर तहस नहस गरेको घटना प्रकासमा आएको छ। मध्यराती पसेको हात्तीको झुन्डमा माउ बच्चाहरू रहेको थियो भने झुन्डले सुनसान कोठीको केही अंश क्षति गर्दै संलग्न श्रमिक विकास माझीको घर भत्काउँदा घरभित्र सुतिरहेको विकास माझीको पत्नी उषा मुन्डा माझी र दुईजना बच्चा संस्कार माझी र सृष्टि माझी खाटमुनि पसेर ज्यान बचाउन सफल भएको गाउँलेहरुले जनाएका छन्।
बुखिमबारी गाउँबाट सुनसान ठाउँमा रहेको साहेब कोठी अहिले कमान बन्द भएकोले विरानो अवस्थामा रहेको छ भने कोठी नजीक केवल एकजना कमान श्रमिक विकास माझीको घर रहेको थियो।
हात्तीको झुन्डले श्रमिक विकास माझीको घर जम्मै भताभुङ्ग बनाउने क्रममा पत्नी उषा मुन्डा माझी र दुईजना बच्चा घरभित्र सुतिरहेको थियो भने ज्यान बचाउन आमाले दुई बच्चालाई च्यापेर खाटमुनि पस्दा हात्तीको झुन्डले खाट कुल्चिएर पार भएको थियो। आमा उषा मुन्डा र दुईजना बच्चालाई गाउँलेहरूले उद्धार गरेर अस्पताल पुऱ्याएको थियो भने दुई बच्चाहरू सुरक्षित रहेता पनि आमा उषा मुन्डा माझीलाई अलिपुरद्वार जिल्ला अस्पतालमा भर्ना गरिएको जान्नमा आएको छ।
घाईते परिवारको उपचार खर्च बन विभागले बेहोर्ने बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement