अलिपुरद्वार: हात्तीलाई बचाउने क्रममा ट्रक अनियन्त्रित भएर सडक किनारमा रहेका दोकानहरूभित्र पस्दा तीनवटा दोकान क्षतिग्रस्त भएको छ। उक्त घटना अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत दलसिंहपाडा जीएसटी मोड इलाकामा घटेको हो। सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति एउटा ट्रक जयगाउँबाट हाँसीमारातर्फ गइरहेको समय अचानक एउटा हात्ती ट्रक अघि आएपछि हात्तीलाई बचाउने क्रममा ट्रक अनियन्त्रित भएर पहिला हातीसित सामान्य ठोक्किएर सडक किनारको तीनवटा दोकानमा पस्यो। घटनामा तीनवटा दोकान क्षतिग्रस्त बनेको बताइएको छ। क्षतिग्रस्त दोकानहरूमा एउटा चिया दोकान, एउटा मोटर पार्ट्सको दोकान र एउटा सेलुन सामेल छ। व्यवसायीहरूको दावी अनुसार उक्त घटनामा लगभग लाखौँ रुपियाँको नोक्सान भएको छ। घटनामा ट्रकको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ।

घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेको थियो। हात्ती जङ्गलतर्फ गएपछि पुलिसले चालकलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।








