उपराष्ट्रपतिको मिमिक्री गर्ने सांसद कल्याण ब्यनर्जीको बर्तावदेखि खुसी छैनन् ममता ब्यनर्जी

कोलकाताः राज्यसभाका सभापति उपराष्ट्रपति जगदीप धनखड़को मिमिक्री गर्ने तृणमूल कंग्रेसका सांसद कल्याण ब्यनर्जीको बर्तावदेखि मुख्यमन्त्री ममता ब्यनर्जी रूष्ट रहेको बताइएको छ। तृणमूल कंग्रेसका एकजना नेताले आफ्नो नाम उजागर नगरिदिने शर्तमा बुधवार सो आशयको जानकारी गराएका छन्।

उनले बताएका छन्, संसद परिसरदेखि बाहिर जसरी कल्याण ब्यनर्जीले जगदीप धनखड़को खिल्ली उड़ाएका छन् त्यसले मानिसहरूमा रोष सृजना गराएको छ। कल्याणको भीडियोलाई सोशल मीडियामा व्यापक मात्रामा साझा गरिएको छ जस पश्चात मानिसहरूले भनिरहेका छन्, तृणमूल कंग्रेस एवं अन्य विपक्षी दलहरूका मानिसहरूले आफ्नो हारको निम्ति आफै बाटो बनाइरहेका छन्। सोशल मीडियामा साझा उक्त भीडियोलाई लिएर तृणमूल कंग्रेस पनि असहज स्थितिमा छ। संवैधानिक पदमा बसेका व्यक्तिको यसरी खिल्ली उड़ाउनु सुहाउँदैन। स्वयं तृणमूल कंग्रले पनि यस मामिलामा मीडियामा सार्वजनिक रूपमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। पार्टी प्रवक्ता कुणाल घोषसित यस सम्बन्धमा प्रश्न गर्दा उनले टिप्पणी गर्नै अस्वीकार गरे।

यहाँसम्म कि अर्का एकजना नेताले भने, कल्याण ब्यनर्जीले पहिलादेखि नै आफ्नो बर्तावको कारणले पार्टीलाई समस्यामा जाक्दै आएका छन्। बङ्गालमा पनि ममता ब्यनर्जी बनाम अभिषेक ब्यनर्जीको बहस उनले नै शुरू गरेका थिए जसपश्चात उनले माफी माग्नु परेको थियो। अब अहिले लोकसभा चुनाउ नजिकै रहेको अवस्थामा उनको यस किसिमको बर्तावले निश्चित रूपमा पार्टीलाई विचलित बनाएको छ। उल्लेखनीय छ, श्रीरामपुर लोकसभा क्षेत्रबाट तृणमूल कंग्रेसका सांसद कल्याण ब्यनर्जीले मङ्गलवार संसद परिसरमा उपराष्ट्रपतिको मिमिक्री गरेका थिए। विपक्षका १४१ जना सांसदहरूलाई निलम्बन गरिएकोमा कंग्रेस लगायत अन्य दलहरूका सदस्यहरूसित उनी पनि विरोध प्रदर्शनमा सामेल थिए। उनले उपराष्ट्रपतिको मिमिक्री गरिरहेको बेलामा राहुल गान्धीले उनको भीडियो बनाएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement