कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको एकमात्र हिल स्टेशनको नाम हो ऐतिहासिक बक्साद्वार।सन १८६५ सालको ब्रिटिशकालीन भारतमा नै सिञ्चुला सन्धिले भारतको भूभागमा गाभिएको बक्साद्वार (समुन्द्रतलदेखि २६०० फूट माथि अवस्थित) को आफ्नो छुट्टै विरह कथा व्यथा त छँदैछ। स्वाधीनताको ७७औँ अमृत महोत्सव देशले मनाइरहेको बेला अझै पनि बक्साद्वारको नागरिकले भने बाटो घाटो र अन्य मौलिक सुविधाहरूको पर्खाईमा दिन काटिरहेको कसैबाट लुकेका छैनन्। समस्याको बगुन्द्रो कथा एकातिर छँदैछ अर्कोतिर यहाँको ऐतिहासिक बक्साफोर्टलाई आर्कियोलजी विभाग मार्फत केन्द्र अनि राज्य सरकार मिलेर पुनरुद्धार गर्ने कार्य चलिरहेको छ। तर ऐतिहासिक बक्साफोर्टको प्रतिसंस्कार अर्थात रिस्टोरेशन कार्य एकातिर चलिरहेको छ अर्कोतिर फोर्टभित्र फूलको बगैँचा रहेता पनि अहिले यी बगैँचामा रोपिएको फूलहरू सबै ओइलाएर मर्न लागेको देखिन्दैछ।

उल्लेखनीय के छ भने, प्रायः २ स्क्वायर किलोमीटर क्षेत्रफलमा फैलिएको ऐतिहासिक बक्साफोर्टभित्र एउटा वाटर रिजर्भोइर अर्थात द्रोणी साथै ३ वटा वाटर ट्याङ्क रहेता पनि यसमा पानीको आपूर्ति गर्ने व्यवस्था नरहेकोले ब्रिटिशकालीन उक्त वाटर रिजर्भोइर र वाटर ट्याङ्कहरू बेकार डस्टबिनमा परिणत भएका छन्। यसलाई संस्कार गरेर प्रयोगमा ल्याउन सकिए फोर्टभित्र पानीको प्रवाह आपुर्ति हुने र यहाँबाट गाउँलाई पनि पानी दिन सक्ने बताउँछन् बक्साफोर्ट रिस्टोरेशन कार्यको निरीक्षक तमाल गोस्वामी। ऐतिहासिक बक्साफोर्टको सिँढ़ी मैदानमा नै पानीको अकुत भण्डार रहेको यसलाई मोटर लगाएर तान्न सकिए पानीको व्यवस्था हुने र फोर्टको बगैँचा हरियो परियो बन्ने बताउँछन् तमाल गोस्वामी। पर्यटक आउने खास सीजन अहिले रहेको र किल्ला घुम्न आउने पर्यटकहरूले किल्लाको फूल बगैँचा सुकाउरो देख्दा मन खिन्न भएको देखिएको पर्यटक लिएर आउने गाइडहरू बताउँछन्। रिस्टोरेशन कार्य चलिरहेको बेला यदि जिल्ला वा ब्लक प्रशासनले मोटर र पाइपलाइनको व्यवस्था गरिदिए फोर्टको वाटर रिजर्भोइर साथै ३ वटा वाटर ट्याङ्कहरूमा पानी उपलब्ध हुने र यसले बगैँचा हरियो परियो बन्ने एवम् संलग्न गाउँमा पानीको सर्वराह पनि हुन सक्ने सम्भावना रहेको फोर्ट रिस्टोरेशन कार्यको निरीक्षक तमाल गोस्वामीले जनाएका छन्।