बाग्राकोट उच्चतर माध्यमिक विद्यालयमा आठकोठे भवनको शिलान्यास

7d76103b-dc31-4a0d-a820-5e00be3b2c91


राम्रो शिक्षाको लागि राम्रो पूर्वाधारा आवश्यक: विधायक लेप्चा
मालबजार: धेरै लामो संघर्षपछि बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-ले आठवटा कोठाको दुईतले विद्यालय भवन प्राप्त गरेको छ। सोमवार अपरान्ह कालेबुङ क्षेत्रका विधायक रूदेन सादा लेप्चाले भवनको भूमिपूजा गरेर आधारशिला राखे। यससँगै हिजैबाट भवन निर्माणको कार्य पनि आरम्भ भएको छ। आगामी वर्ष २०२४ मा विद्यालयले कौस्तुभ जयन्ती पालन गर्दैछ। विद्यालयका प्रधानाध्यापक सागर शर्माको नेतृत्वमा विद्यालयले लगातार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-का नेतृत्व तथा अधिकारीहरूसमक्ष विद्यालयमा पूर्वाधारको कमी र भवनहरूको जीर्ण अवस्थाबारे जानकारी गराउँदै नयाँ भवन निर्माणका लागि शीघ्र पहल गरिदिने माग राख्दै आएको थियो। ६५ लाख ६९ हजार ४७८ रुपियाँको लागतमा पश्चिम बङ्ग समग्र शिक्षा मिशन, कालेबुङ ब्लक-१ मातहातमा आठकोठे भवन निर्माण कार्य शुरु भएको हो।


हिजो अपरान्ह विद्यालय परिसरमा एक संक्षिप्त कार्यक्रम आयोजन गरेर विधायक रूदेन सादा लेप्चाका बाहुलीबाट भवनको शिलान्यास गरियो। कार्यक्रमलाई जीटीएका उपप्रमुख तथा शिक्षा प्रभारी एवं क्षेत्र सभासद सञ्चवीर सुब्बाले अध्यक्षता गरेका थिए। स्थानीय ठेकदारगण, गण्यमान्य व्यक्तिहरू, शिक्षक-शिक्षिकागण तथा चुनाभट्टी क्षेत्रका समाजसेवीहरूको बाक्लो उपस्थितिलाई सम्बोधन गर्दै विधायक रूदेन सादा लेप्चाले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको धैर्य र लगातारको प्रयासको सराहना गरे। प्रमुखताको सूचीमा अघिबाटै रहेको विद्यालयको ठूलो बजेट र मुख्य भवन निर्माणको कार्य पनि नयाँ वर्षको शुरुतिरै हुने सम्भावना रहेको उनले आश्वासन दिए। निकै ठट्यौली र रौसे मिजाजबाट आफ्नो सम्बोधन शुरु गरेका लेप्चाले विद्यालयमा लामो समयदेखिको पूर्वाधारको कमीबारे आफू अवगत र चिन्तित रहेको जानकारी गराए। उनले भने,”विद्यार्थीहरूको यतिको सङ्ख्या (२००० भन्दा बेसी) भएर पनि यो जीर्ण अवस्था ठिक नहुनुमा हामीमाथि पनि प्रश्न उठ्छ। यो अदेखा गर्नु जस्तो भएथ्यो। यो सानो भवन कम्तीमा शुरु गर्न सक्दा आफूलाई केही सन्तोक मिलेको छ। मुख्य भवन जो अघिबाटै जीटीएको प्राथमिकताको सूचीमा छ, आशा गरौँ, आगामी जनवरी महिनामा यसको पनि काम शुरु हुनेछ।” उनले यसो भन्दा विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानीयवासीका अनुहार उजालिएको थियो। उल्लेखनीय छ, विधायक रूदेन सादा लेप्चाकै विशेष तत्परता र सहयोगमा केही महिनाअघि मात्र विद्यालयले कमर्सका लागि दुईवटा कोठा भएको एउटा भवन पनि प्राप्त गरेको थियो। नयाँ भवनसँगै विद्यालयको नयाँ इतिहास कोरिने जिकिर गर्दै लेप्चाले अझ भने,”नानीहरूले बिल्डिङ हेरेर अध्ययनमा रुचि राख्छन्। स्कूल बिल्डिङ भएन भने विद्यार्थीको संख्या घट्दै जान्छ। राम्रो शिक्षा दिनका लागि राम्रो पूर्वाधार आवश्य हुन्छ। आजकल प्रत्येक वर्ष सरकारी विद्यालयमा ५/१० प्रतिशतले विद्यार्थी सङ्ख्या घट्दैछ।” अहिले जीटीएले बिस्तारै भए पनि प्रशासनिक सुधार गर्दै लगेको बताउँदै भविष्यमा पहाड़को व्यवस्था र नीतिहरूमा व्यापक सुधारको परिकल्पना आफूहरूले बुनेको पनि उनले बताए। बाउमावि-का प्रधानाध्यापक सागर शर्माले यो भवन निर्माणले विद्यालय परिवारमा एउटा नयाँ उमंग र उत्साह जागेको बताए। यसको पहल गरिदिएकोमा उनले विशेष रूपले विधायक रूदेन सादा लेप्चा, क्षेत्र सभासद तथा जीटीए उपप्रमुख सञ्चवीर सुब्बा, कालेबुङका डीआई रवीन्द्रनाथ मण्डल, वरिष्ठ अधिकारी स्मिता सुब्बा, विभागीय इञ्जिनियर, जीटीएका नेतृत्वगण अनि आफूसँग सहयोग र सहकार्य गर्ने सबै शिक्षक-शिक्षिकागणप्रति पनि आभार प्रकट गरे। आफ्नो अध्यक्षीय सम्बोधनमा सञ्चवीर सुब्बाले विद्यालयको प्रगतिप्रति सन्तोष प्रकट गर्दै आगामी वर्ष हुने कौस्तुभ जयन्तीलाई सफल बनाउन सबैले सहयोग गरिदिन अपील गरे। सम्पूर्ण कार्यक्रमलाई शिक्षक अजय खड्काले सुन्दर ढङ्गमा परिचालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement