नयाँ दिल्ली: इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को सिजनको मिनी अक्सन अर्थात लिलामी आज दुबईमा भएको छ। १० फ्रेन्चाइजीका ७७ खेलाडीको २६२.९५ करोड रुपियाँ दांवमा छ। लिलामी आज दिउँसो १ बजे शुरु भयोl न्यूजिल्याण्डका स्टार अलराउन्डर डेरिल मिचेललाई चेन्नई सुपर किंग्सले १४ करोड रुपियाँमा किनेको छ। मिचेलको आधार मूल्य १ करोड थियो। भारतीय टोलीका अलराउन्डर हर्षल पटेललाई पञ्जाब किंग्सले ११ करोड ७५ लाख रुपियाँमा किनेको छ। उनको आधार मूल्य २ करोड थियो। दक्षिण अफ्रिकाका फास्ट बलर जेराल्ड कोएत्जीलाई मुम्बई इण्डियन्सले ५ करोडमा किनेको छ। कोएत्जीको आधार मूल्य २ करोड थियो। अष्ट्रेलियाली क्रिकेट टिमका स्टार तथा अनुभवी फास्ट बलर प्याट कमिन्सलाई धेरै पैसाको वर्षा भएको छ। कमिन्सका लागि आरसीबी र हैदरावादबीच कडा बोलीको युद्ध थियो। कमिन्सलाई हैदरावादले २०.५० करोड रुपियाँ तिरेर किनेको हो।
अफगानिस्तान क्रिकेट टिमका स्टार अलराउन्डर अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाखको आधार मूल्यमा किनेको छ। यस लिलामीमा भारतीय अनुभवी खेलाडी शार्दुल ठाकुरको आधार मूल्य २ करोड रुपियाँ थियो। उनलाई सीएसकेले ४ करोड रुपियाँमा अनुबन्ध गरेको हो। पाँच पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सले स्टार किवी अलराउन्डर रचिन रविन्द्रलाई १.८ करोडमा किनेको छ। रचिनको आधार मूल्य ५० लाख थियो। श्रीलंकाका स्टार अलराउन्डर वानिन्दु हसरंगालाई सनराइजर्स हैदरावादले १.५ करोडमा अनुबन्ध गरेको छ। आईपीएलका लिजेण्ड तथा भारतीय ब्याट्सम्यान मनिष पाण्डे आईपीएल २०२४ को मिनी लिलामीमा बिक्रीमा परे। यस लिलामीमा उनको आधार मूल्य ५० लाख रुपियाँ रहेको छ। अष्ट्रेलियाका विस्फोटक ओपनर ट्राभिस हेडमा सनराइजर्स हैदरावादले पैसाको वर्षा गरेको छ। उनलाई एसआरएचले ६ करोड ८० लाखमा किनेको हो। इंग्ल्याण्डका उत्कृष्ट ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले किनेको छ। उनले ब्रुकलाई ४ करोडमा किनेका हुन्। यस लिलामीमा ह्यारी ब्रुकको आधार मूल्य २ करोड रुपियाँ थियो। आईपीएल २०२४ को मिनी लिलामीको पहिलो बोली वेस्ट इन्डिजका ब्याट्सम्यान रोभम्यान पावेलमा लगाइएको थियो। कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच लामो समयसम्म बोलीको युद्ध चलेको थियो। तर अन्त्यमा आरआरले जित्यो। पावेललाई आरआरले ७ करोड ४० लाखमा किनेको थियो।











