दार्जिलिङ: प्राकृतिक आपदासँगै विभिन्न वन्य जन्तुको कारण किसानहरुको खेतीमा हुने नोक्सानीलाई भरपाई गर्ने उद्देश्यसँगै किसानहरुको आर्थिक बोझलाई कम गर्ने उद्देश्यको साथमा इन्सुरेन्स कम्पनीको सहयोगमा राज्य सरकारद्वारा सञ्चालित एक योजना हो “बङला शस्य योजना”। यो योजनाद्वारा किसानहरु खरिफ तथा रबी दुवै सिजनका खेतीहरुको बिमा गर्न सक्छन्। यसै योजनालाई जनमानसमा पुर्याउने उद्देश्यको साथमा जीटीए क्षेत्रको निम्ति दार्जिलिङको भानु भवनबाट बङ्ला शस्य बिमा रबी २०२३-२४ आजबाट शुरु गरिएको छ भने योजनाको जानकारी सहितको वाहन विभिन्न खण्डहरूको निम्ति छोडिएको छ। कार्यक्रममा जीटीए कृषि विभागीय सभासद सतिश पोख्रेल, कृषि विभागीय अभियन्ताहरु टीआर राई, युनुस लेप्चा, बिमा कम्पनीका अधिकारीगण लगायत कृषि विभागका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियोे। उनीहरूकै उपस्थितिमा कृषि विभागीय सभासद सतिश पोख्रेलले बिमा जागरुक वाहनलाई हरियो झण्डा देखाउँदै शुरु गरेका छन्।









