गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) विद्यार्थी प्रकोष्ठको पहलमा आजदेखि दुई दिवसीय रिड एण्ड ग्रो कार्यक्रम शुरू भयो। राजधानीस्थित मनन केन्द्रमा आयोजित पहिलो दिनको कार्यक्रममा राज्यका शहरी विकास विभाग मन्त्री अरूण उप्रेती रहेका थिए भने विशिष्ट अतिथिहरूमा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, विधायक अदित्य गोले, लोकसभा सांसद इन्द्र हाङ सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, गत वर्षदेखि शुरू गरेको रिड एण्ड ग्रो कार्यक्रमको दोस्रो पल्ट राजधानीमा भव्यरूपमा सम्पन्न भइरहेको छ। आजको पहिलो दिनको कार्यक्रम मनन केन्द्रको मिनिहल,पुस्तकालय र ठूलो हलमा विभिन्न प्रकारको कार्यक्रम एकै साथ शुरू भएको थियो जसमा प्यानल डिस्कसन कन्टेम्पोरेरी ट्रेण्ड हिमालय राइटिङको आयोजना गरिएको भने सो कार्यक्रममा सत्यदीप छेत्री, पंकज गिरी, अजित बराल रहेका थिए भने यसको सञ्चालन अनुराग बस्नेतले गरेका थिए। सिक्किममा कस्तो विषयमा अबोप्रान्त साहित्य लेखिनुपर्छ भन्नेबारेमा चर्चा परिचर्चा गरिने भएको छ। यसरी नै नेपाली लेखकहरूको समकालिन नेपाली साहित्य केही दृष्टिकोणबारे चर्चा गरियो छ, जसमा साहित्यकार छुदेन काविमो, अजित बराल, कवि राजा पुन्यानीले कविता वाचन गरे। सोही प्रकारले दोस्रो दिनको कार्यक्रममा चलचित्र र थिएटरमाथि कार्यशालाको आयोजना गरिने भएको छ। यसरी नै राज्य सरकारद्वारा शुरू गरिएको नाट्य प्रतिभा मञ्चमा आमा, बहिनी र वातसल्य योजनाबारे नाटक प्रदर्शन गरिने भएको छ।