म्यानमारमा जारी गृहयुद्धका कारण त्यहाँ बाट करिब ६ हजार मानिसहरूले आफ्नो राज्यमा शरण लिएको मणिपुरका मुख्यमन्त्री एन. वीरेन सिंहले बताएका छन्। दक्षिणी असमको बराक उपत्यकामा रहेको मणिपुरी समुदायको एक कार्यक्रममा सहभागी हुँदै उनले म्यानमारको अशान्तिका कारण अहिलेसम्म महिला र बालबालिकासहित करिब ६ हजार मानिस मणिपुर आएको बताए। उनले संचारमाध्यमलाई भने, ‘हामीले मानवीय पक्षलाई ध्यानमा राखेर म्यानमारका जनतालाई खाना र आश्रय दिइरहेका छौं। अस्थिर अवस्था जारी रहँदा, धेरै मानिसहरू भारत आउने सम्भावना छl’ एन विरेन सिंहले छिमेकी देश म्यानमारबाट मणिपुरमा भइरहेको घुसपैठप्रति गहिरो चिन्ता व्यक्त गरे।
उनले कमजोङ र उखुरुल जस्ता क्षेत्रमा बायोमेट्रिक डाटा संकलन र प्रोफाइलिङ प्रक्रिया चलिरहेको र त्यहाँ बढ्दो द्वन्द्वको रिपोर्टलाई ध्यानमा राख्दै म्यानमारको छेउमा रहेको बेहियाङ जस्ता क्षेत्रमा पनि यस्तै रणनीति अपनाउने घोषणा गरे। उनले भने, ‘हामी उनीहरूलाई शरणार्थी जस्तो व्यवहार गर्न सक्दैनौं, तर मानवीय आधारमा म्यानमारका नागरिकहरूलाई खाना र आश्रय उपलब्ध गराउँदैछौं। हामी म्यानमारका नागरिकहरूलाई राज्यको सिमानामा स्थायी बस्ती स्थापना गर्न दिनेछैनौंl’ मणिपुर बाहेक, मिजोरममा म्यानमारबाट नयाँ घुसपैठ भइरहेको छ।










