हाम्रो वैकुण्ठपुर पत्रिकाद्वारा शिक्षिका हीरादेवी गुरुङ सम्मानित

IMG-20231218-WA0185

सिलगढी: सिलगढीको होहल्लामाझ ओझल बनिसकेकी लिम्बुबस्ती निवासी वरिष्ठ शिक्षिका एवं समाजसेवी हीरादेवी गुरुङलाई सोमबार हाम्रो वैकुण्ठपुर पत्रिकाद्वारा सम्मान जनाइएको छ। सिलगढीस्थित खोलाचन्द फाप्रीबाट द्वैमासिक रुपमा प्रकाशित हुने हाम्रो वैकुण्ठपुर पत्रिकाका संस्थापक एवं सम्पादक विकास तिम्सिनाले शिक्षिका हीरादेवी गुरुङलाई उनकै निवास स्थानमा गएर सोमबार सम्मान जनाएका हुन्। यस विषयमा विकास तिम्सिनाले बताए अनुसार, ८० वर्षीया हीरादेवी गुरुङ मिरिक निवासी चन्द्रमाया गुरुङ एवं धिरेन प्रसाद गुरुङको छोरी हुन्। मिरिकमा जन्मिएका उनले सन् १९७० को दशकदेखि आफ्नै बलबुतामा सिलगढीको लिम्बुबस्ती नजीक एउटा समाज घरमा नेताजी नामक पाठशाला संचालन गर्दै विपन्न विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइरहेकी छिन्। 

खरसाङको सन्त जोशेफ स्कूलबाट आफूले शिक्षार्जन गरेको बताउने हीरादेवी गुरुङ हाल बिरामी अवस्थामा छिन्। हाल लिम्बुबस्ती नजीक नेताजी नगरमा भाडाको एउटा कोठामा बस्दै आएकी उनको आर्थिक एवं शारीरिक अवस्था एकदमै दुर्बल बनेको बताइएको छ। यतिबेला उनलाई विभिन्न संघसंस्था साथै अन्य विविध माध्यमबाट सहयोगको खाँचो रहेको बताइएको छ। विकास तिम्सिनाले अझ बताएआनुसार, आफ्नो जाति र समाजको निम्ति जीवनभरि नै नि:स्वार्थ सेवा गरेर आफ्नो सर्वस्व त्यागेका हीरादेवी गुरुङ हाम्रै समाजमा ओझल बनिसकेकी छिन्। उनको समाजप्रतिको त्याग, सेवाको मुल्यांकन गर्न आफूले आज उनको निवासमा गएर उनलाई सम्मान गर्न पाउँदा आफैलाई भाग्यमानी ठानेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement