राज्यमा भाजपा सरकार भए मात्र सिक्किमको विकास हुनेः दिनेश चन्द्र नेपाल

IMG-20231217-WA0231.jpg

गान्तोक: भारतीय जनता पार्टी सिक्किम प्रदेश एकाईका नवनियुक्त उपाध्यक्ष दिनेश चन्द्र नेपालकाअनुसार दुवै केन्द्र र राज्यमा भाजपा-को सरकार भएको खण्डमा सिक्किम राज्यको विकास द्रूत गतिमा हुनको साथै थाँतीमा रहेका केन्द्र सरकारसित सम्बन्धित संवैधानिक अधिकारका मागहरू पनि पूरा हुनेछ। आज राजधानीमा हिमालय दर्पणसितको विशेष कुराकानीमा सिक्किम सरकारका पूर्व सचिव नेपालले यस्तो मन्तव्य जाहेर गरेका हुन्। राज्यमा पनि भाजपा-को सरकार भएको खण्डमा सिक्किम र सिक्किमेसित सम्बन्धित मागहरू पूरा गर्न सजिलो हुनेछ, उनले भने। विभिन्न विभागमा रहेर राज्यको सेवा गरेर सचिवको पदसम्म पुगी हालै अवकाशग्रहण गरेका उनी भारतीय जनता पार्टी मार्फत सक्रिय राजनीतिमा आएका छन्।

किन भाजपा नै रोजेको भन्ने प्रश्नको जवाफमा भाजपा र आफ्नो नीति मिलेको नेपालको भनाइ रहेको छ। जसरी भारतीय जनता पार्टीले शुन्य भ्रष्टाचारको नीति अप्नाएर भारत देशलाई भ्रष्टाचार मुक्त पार्ने दिशामा काम गरिरहेको छ त्यसले मलाई प्रभावित पाऱ्यो। म पनि भ्रष्टाचार सहन सक्दिन। लामो समयसम्म सरकारी नोकरी मार्फत राज्यको सेवा गरेपछि राजनीतिबाट पनि राज्य र राज्यवासीको सेवा गर्ने उद्देश्यले भारतीय जनता पार्टीमा सामेल भएको हुँ, उनले भने। उनको भनाइअनुसार क्षेत्रीय पार्टीको सरकारहरूमा भ्रष्टाचारलाई रोक्न सम्भव छैन।

एउटा प्रश्नको जवाफमा सरकारी कर्चारीको रुपमा आफ्नो लामो सेवाकालमा अहिलेसम्मको सबैभन्दा असल सरकार स्व. नरबहादुर भण्डारीको सरकार रहेको दिनेश चन्द्र नेपालले बताए। चामलिङ सरकारकालमा पनि पहिलो दश वर्ष त राम्रै काम भयो तर नरबहादुर भण्डारी सरकारमा जतिको सुशासन सिक्किममा अहिलेसम्म भएको छैन, उनले भने। वर्तमान एसकेएम सरकार बारे बोल्दै कोविड र हालको टिस्टा जलप्रलयले यस सरकारलाई काम गर्नमा बाधा पुऱ्याएको तरै पनि गाउँ-बस्तीमा भनेजस्तो विकास गर्न वर्तमान सरकार असफल रहेको उनले बताए। समग्रमा भन्नुपर्दा यो सरकार वेचारा सरकार हो, नेपालले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement