सिलगढी: फुलबारीको टिस्टा नहरबाट एक युवकको लाश फेला परेको छ। युवकको हत्या गरी लाश नहरको गहिरो खाल्डोमा फालिएको स्थानीयले अनुमान गरेका छन्। आइतबार बिहान यो घटनाले फुलबारी नम्बर २ ग्राम पञ्चायत क्षेत्रको राजीवपाडा नहर मोड क्षेत्रमा निकै सनसनी मच्चाएको थियो। केही दिनअघि यहाँ एक युवकको लाश पनि फेला परेको थियो। सोही ठाउँबाट आज फेरि पुलिसले एक युवकको लाश फेला पारेको छ। आइतबार बिहान स्थानीयले नहरमा लाश देखेपछि नयाँ जलपाईगुडी थानाको पुलिसलाई खबर गरियो। पुलिसले घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। पुलिसले युवकको पहिचानको प्रयास गरिरहेको छ।