मिरिक: मिरिक सरकारी अस्पतालमा आजदेखि एम्बुलेसन सेवा अनि अतिरिक्त ल्याबको सेवा सुचारु गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा प्रदान गरिएको एम्बुलेन्सको सेवा पाउन मिरिक अस्पतालका बिएमओएच डा. अभिजित महन्तोसित सम्पर्क गर्न सकिने छ। यसका साथै आजदेखि नै अस्पतालमा सेमि अटो मशीन आइपुगेको छ जसको फलस्वरूप कतिपय ल्याबका टेस्टहरु अब मिरिकमा नै हुने निश्चित भएको छ। यस आशयको जानकारी दिदै जिटीए सभाका सभासद तथा अस्पतालको संयोजक मिलेश राईले अब मिरिकमा जम्मा गरी चारवटा एम्बुलेन्सले सेवा प्रदान गर्ने बताएका छन्। यस अवसरमा सभासदले जीटीएका प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गर्दै कमान बस्तीका बिरामीहरुले सहुलियतको फाइदा उठाउन सक्ने बताए। अर्कोतिर अस्पतालका बिएमओएच डा. अभिजित महन्तोले मिरिक अस्पतालमा ल्याबमा मशीनको अभाव रहेको समस्याबारे अवगत गराए। तैपनि आफूहरुले सेमी अटो मशीनको माध्यमबाट जतिसक्दो सेवा पुराउने प्रयास गरिरहेको बताए। एम्बुलेन्स सेवाको सन्दर्भमा डा. महतोले एम्बुलेन्स प्राप्त भए पनि ड्राइभर अनि तेलको सन्दर्भमा सरकारी पहल नरहेको कारण निजी एम्बुलेन्सभन्दा सस्तो गरी सेवा पुराउने ध्येय आफूहरुको रहेको बताएका छन्। यसको साथै उनीले अस्पतालमा बिरामी भेट्न आउने समयलाई मध्यनजर गरेर आगन्तुकहरु आइदिने अनुरोध गर्दै यसो गर्नाले बिरामीको उपचारमा सहज हुने बताएका छन्।

अस्पतालका ल्याब टेक्निसियन नोयल सिमिक अनि सुरभी तामाङले सेमि अटो मशीन आएपछि कतिपय टेस्टहरु मिरिकमा हुने जानकारी दिएका छन्। तर कर्मचारीको अभावका कारण उक्त टेस्ट बिहान नौ बजेदेखि एघार बजेसम्म मात्रै सम्भव रहने बताएका छन्।