कालचिनीः डुवर्स तामाङ बौद्ध संघको शाखा कमिटी विस्तारको क्रममा आइतबार भारत भोटाङ सीमान्त जयगाउँ २ नम्बर क्षेत्रको तामाङ प्रतिनिधिहरूलाई समेटेर शाखा कमिटी गठन गरिएको जानकारी डुवर्स तामाङ बौद्ध संघको केन्द्रिय मूलसचिव कुमार गोलेले दिएका छन्। आइतबार उक्त अवसरमा जयगाउँ समाज कल्याण संघ गोर्खा भवनमा डुवर्स तामाङ बौद्ध संघको सभा सम्पन्न भएको थियो।
उक्त सभामा संघको केन्द्रिय सदस्य तथा संरक्षक एवम् कालचिनी ब्लक कमिटीको सभापति असिम पाख्रिन, सचिव श्यामा थोकर, ताम्बा लाक्पा योञ्जन, लगायत जयगाउँ २ नम्बर ग्राम पञ्चायतका उपप्रधान फुर्बा लामा, कालचिनी पञ्चायत समितिको भाइस चेयरम्यान नितु तामाङ, साङ्गे गोले तामाङ, मन्तोष लामा लगायत अन्यान्य तामाङ समाजसेवीहरूको उपस्थिति रहेको थियो। स्थानीय समाजसेवी बबन लामा थिङको अध्यक्षतामा सम्पन्न सो सभामा तामाङ जातिको संस्कृति संस्कार र भाषा एवम् तामाङ सोनम ल्होछारको महत्वबारे चर्चा पश्चात अन्ततः सर्वसहमतिले डुवर्स तामाङ बौद्ध संघको जयगाउँ २ नम्बर शाखा कमिटी गठन गरिएको थियो।

उक्त कमिटीमा शाखा अध्यक्षमा प्रेमबहादुर गोले तामाङलाई चयन गरिएको छ भने सचिवमा सरोज लोप्चन तामाङ र कोषाध्याक्षमा सानु लामा थिङ लगायत चीफ एडभाइजरमा साङ्गे गोले तामाङ लगायत फुर्बा लामा घिसिङ, सुधीर लामा मोक्तान, प्रदिप तामाङ पाख्रिनलाई चयन गरिएको र ३ जना उपाध्यक्ष र ३ जना सहसचिव अनि सहकोषाध्याक्षको चयन गर्दै १४ जना थप कार्यकारिणी सदस्यहरूको चयन गरिएको थियो। सभा सम्पन्न हुन अघि जयगाउँ भेगका दिवङ्गत तामाङ हस्ती तथा तामाङ बौद्ध संघको कर्मठ सदस्य स्व. शंकर बल तामाङको प्रतिकृतिमा धुपदीप प्रज्वलन एवम् तिनको स्मृतिमा टाँशी मोलम साथै एक मिनटको मौन धारण पालन गरिएको थियो।