आशा मुखिया लामाकृत ‘चिसो मरूभूमितिर’ नियात्रामाथि विमर्श कार्यक्रम सम्पन्न

IMG-20231216-WA0138.jpg

आशा मुखिया लामामा आख्यान् लेख्ने क्षमता छ: राजु प्रधान ‘हिमांशु’

खरसाङ: खरसाङकी नारी स्रष्टा एंव नेपाली संस्कृतिको अभियन्ता एंव सामाजिक कार्यकर्ता आशा मुखिया लामाको नियात्रा संग्रह ‘चिसो मरूभूमितिर’ लाई लिएर विमर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त विमर्श कार्यक्रम खरसाङको आशालयमा ज्ञानकुञ्ज बुक खरसाङको आयोजनामा सम्पन्न भएको छ। केही समय अघि मात्र लोकार्पण गरिएको आशा मुखिया लामाको ‘चिसो मरूभूमितिर’ नामक नियात्रा संग्रहमाथि सम्पन्न विमर्श कार्यक्रममा विमर्शकर्ताहरूमा वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’, कवि विनोद रसाईली, साहित्यकार ऋषि राई, विष्णु ठकुरी आदि उपस्थित थिए भने सहजकर्ताको रूपमा स्रष्टा सञ्जीव छेत्री उपस्थित रहेका थिए। यसको साथै पाठकीय टिप्पणी राख्नेहरूमा मंग्पुबाट पुष्कर सिंगर, प्रकाश प्रधान, सहदेव चामलिङ, हनोक थापा थिए भने नियात्राकार आशा मुखिया लामासितै यात्रामा गएकाहरू उषाकिरण तामाङ, मिना मोक्तान आदिले पनि पुस्तकमाथि टिप्पणी राखेका थिए। कार्यक्रममा दार्जिलिङ जिल्लाको पूर्व शारीरिक शिक्षा अधिकारी मिलन तामाङ, गजलकार पी लक्की शेर्पा आदि पनि उपस्थित रहेका थिए। यस क्रममा आशालय र ज्ञानकुञ्ज बुक्स खरसाङको पक्षमा उपस्थित सबैलाई स्वागत जनाएका थिए भने स्रष्टा आशा मुखिया लामाले स्वागत सम्भाषण राखेका थिए। ज्ञानकुञ्ज बुक्सको पक्षबाट सञ्चालन गर्दै स्रष्टा सञ्जीव छेत्रीले सहजकर्ताको भूमिका निर्वाह गर्दै विमर्शकर्ताहरू समक्ष विभिन्न प्रश्नहरू राखेका थिए। यस क्रममा सबैले चिसो मरूभूमितिर पुस्तकमाथि विचार विमर्श राखेका थिए भने विभिन्न प्रकारका टिप्पणीहरू राखिएको थियो। पुस्तक लोकार्पण मात्रै गरेर हुँदैन तर पुस्तकमाथि विचार विमर्श र चर्चा गर्न आवश्यक रहेको ठान्दै ज्ञानकुञ्ज बुक्स खरसाङको आयोजनामा उक्त पुस्तकमाथि विमर्श कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रममा विमर्शकर्ताहरू र टिप्पणीकारहरूले आशा मुखिया लामाद्वारा लिखित चिसो मरूभूमितिर नामक पुस्तकको विभिन्न पक्षहरू जस्तै नियात्राको सैध्दान्तिक पक्ष अनुरूप लेखिएको, भाषा – शैली, हिज्जे, लेखन कला र विभिन्न विषयहरूमा टिप्पणी राखेका थिए। यस क्रममा विमर्शकर्ता कवि एंव गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाईलीले नियात्राको विशेषता बोकेको यो पुस्तक नियात्रा नै हुन् भन्दै नियात्राको परिधिभित्र लेखिएको यो नियात्रा संग्रह सफल पुस्तक मान्न सक्छौं भनी बताए। उनले यस पुस्तकभित्र रहेको नियात्राहरूका शीर्षक ठीक रहेको र रोचक रहेको बताए। विनोद रसाइलीले आशा मुखिया लामाको तीनवटा कृतिहरूमध्ये भाषा शैलीको हिसाबमा यो कृति उत्तम रहेको बताउँदै पुस्तकमा रहेको भाषा -शैली, लेखन र हिज्जे साथै कतिपय शब्दहरूमा सुझाव पनि राखेका थिए। यस क्रममा वरिष्ठ साहित्यकार एंव समालोचक राजु प्रधान हिमांशुले आशा मुखिया लामाकृत ‘चिसो मरुभूमितिर’ कृतिमा नियात्राको तत्त्वहरू पाउँछौं र यो नियात्रा नै हुन् भनी बताए। उनले आफ्नो सम्बोधन राख्दै भने-‘आशा मुखिया लामाभित्र आख्यान् लेख्ने क्षमता भएको र भविष्यमा उपन्यास पनि प्रकाशित गर्ने आशा छ। चिसो मरूभूमितिरको दोस्रो संस्करण पनि संसोधित र परिमार्जित भएर आउने कुरामा आशावादी छु। यो कृति प्रभावकारी भएको छ। यसमा एडभेञ्जर रिटरेरीको आभास पनि पाउँछौं। नियात्रामा स्रष्टाले फोटोको साहारा लिनु हुँदैन तर त्यसको बदलामा शब्द र लेखन नै सठीक हुन्छ।’ उनले पुस्तकमाथि विभिन्न सुझावहरू पनि राखेका थिए। यस विमर्श कार्यक्रममा बोल्दै साहित्यकार ऋषि रार्ईले भाषामा जहिले पनि सरलता हुनुपर्छ भन्दै आशा मुखिया लामाकृत नियात्रा संग्रह पाठकप्रिय बनेको छ कारण यो सजिलो र सबैले बुझ्ने पुस्तक छ भनी बताए। उनले यस पुस्तकको त्रुटिहरू संसोधन गरेर दोस्रो संस्करण अायोस् भन्दै यस पुस्तकमाथि समालोचकहरूले लेख्नुपर्छ भनी बताए। राईले यो पुस्तकमा लेखन शैली राम्रो छ र यो पुस्तक अन्य भाषाहरूमा पनि अनुवाद भएको राम्रो भनी बताए। विमर्शको क्रममा नारी स्रष्टा विष्णु ठकुरीले आशा मुखिया लामाको यो कृतिमा भाषा शैली र लेखन मिठो छ भन्दै नारी लेखन र यो नारी नियात्राकारहरूको साहसिक यात्रा विवरण हो भनी बताइन्। उनले यो नियात्रा पढेर अझ अर्को नियात्रा पनि आयोस् भन्ने लागेको छ भन्दै यस पुस्तकले ऐतिहासिक पक्ष बोकेको पनि बताइन्। कार्यक्रममा टिप्पणी राख्दै कवि एंव नायक पुष्कर सिंगरले नियात्राको सबै तत्त्वहरू छन् र यसमा पूर्ण विवरण रहेको बताए। उनले यात्राको हरेक साना साना कुराहरू उल्लेख गरेको बताउँदै भाषा शैली पनि मिठो छ र पुस्तकको सबै पक्ष शक्तिशाली भएकोले यो पुस्तक नियात्रा हो भन्ने पटक्कै लाग्दैन बरू हामी पाठकहरू पनि उनीसितै यात्रा गर्ने यात्री नै हुन्छौं भनी बताए। टिप्पणी राख्ने क्रममा गोर्खा जनपुस्तकालय खरसाङको उप सभापति प्रकाश प्रधानले आशा मुखिया लामाले यात्रा मात्रै नलेखेर ऐतिहासिक पृष्ठ भूमिलाई छर्लङ्ग पारेर लेखेको बताउँदै आफुले यात्रा गरेको स्थानहरू पूर्ण जानकारी दिएको पनि बताए। उनले पुस्तकमा रहेको कतिपय शब्दहरूको स्थानमा नेपाली भाषाको शब्दहरू पनि लेख्न सकिने सुझाव राखेका थिए। टिप्पणीको क्रममा कवि एंव पत्रकार हनोक थापाले आशा मुखिया लामाको नियात्रा ‘चिसो मरूभूमितिर’ पुस्तकको नाम आकर्षकीय रहेको र यो पुस्तक नियात्रा मात्रै भारतीय गोर्खा सैनिकहरूको गौरवमय योगदानको ऐतिहासिक महत्व बोकेका कुराहरू रहेको बताए। उनले य पुस्तक अन्य भाषाहरूमा पनि अनुवाद हुनु पर्ने कुरा बताए। कार्यक्रममा सहदेव चामलिङले पनि टिप्पणी राखेका थिए। त्यसरी नै लेखिकासितै यात्रामा गएका उषाकिरण तामाङ र मीना मोक्तानले पनि यात्राको अनुभवहरू र पुस्तकमाथि टिप्पणी राखेका थिए। यस क्रममा नियात्राकार आशा मुखिया लामाले आफ्नो सम्बोधनमा विमर्श कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिन्दै यो पुस्तकको डाटाहरू संकलन यात्राको समयमा गरेको होइन तर पछिबाट स्मरण गर्दै र डाटाहरू संकलन गरेर लेखेको बताएकी छन्। उनले विमर्श कार्यक्रममा पुस्तकमाथि उठान भएको विभिन्न कुराहरू र संसोधन गरिनु पर्ने कुराहरूमा आफु सहमत रहेको साथै पहिलो संस्करणको भूलहरू संसोधन गरेर दोस्रो संस्करण प्रकाशित गर्ने पनि बताइन्। उनले विमर्श कार्यक्रम आयोजनाको लागि ज्ञानकुञ्ज बुक्स खरसाङ र कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गरेकी छन्।

कार्यक्रमपछि सबै विमर्शकर्ताहरू, टिप्पणीकर्ताहरू र सहभागीहरूलाई ज्ञानकुञ्ज बुक्सको पक्षबाट आभार स्वरूप नोट बुक र कलम प्रदान गरिएको थियो। उक्त उपहारहरू ज्ञानकुञ्ज बुक्स र आशालयको पक्षमा चिसो मरूभूमितिर पुस्तकको प्रकाशक पारस लामा र उनकी छोरी डा. अम्बिका लामाको बाहुलीबाट प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement